२०८२ असार १० गते मंगलवार ०५:५७

दम्कुवासीको दरिलो साथ, शिक्षामा कालिका विद्यालयको छलाङ

११६८६ पटक पढिएको

काठमाडौं । गरे के हुन्न ? जुटे के असम्भव रहेछ ? खोटाङको रावाबेसी गाउँपालिका–१, दम्कुका स्थानीयहरुले यो प्रमाणित गरेका छन् । आफ्ना सन्तानलाई उच्च शिक्षा दिन गाउँबाट सहर छिर्नेको संख्या नगण्य छ । गाउँमै सन्तानलाई पढाउने वातावरण नै छैन भन्ने गुनासोलाई चिर्दै दम्कुका स्थानीयवासीले गाउँबाटै शैक्षिक अभियानको नयाँ थालनी गरेका छन् ।

Advertisement 1

बिहीबार अरुबेलाभन्दा दम्कुका स्थानीयको मुहारमा बेग्लै चमक थियो । स्कुलको प्रांगणमा उनीहरु आफ्ना बालबच्चासँगसँगै उभिएका थिए । विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिले बेग्लै खालको आभाष दिइरहेको थियो । डोको र थुन्सेबाट खाजा, नास्ता पनि वितरण भइरहेको थियो । लाग्थ्यो– कुनै मेला पो हो कि ! तर, यो कुनै मेला थिएन । यो त गाउँकै शैक्षिक विकासका निम्ति विशेष भेला थियो ।

२०७० सालमा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालय गाभिएर बनेको कालिका आधारभूत विद्यालयले अब पूरानो स्वरुप परिवर्तन गरेको छ । अभिभावक र शुभचिन्तकको दह्रो साथ पाएपछि कालिका विद्यालय एउटा नमूना विद्यालयका रुपमा रुपान्तरण भएको छ । विगतमा सामान्य रुपमा सञ्चालनरत कालिका विद्यालयले यसै शैक्षिक सत्रदेखि पूर्ण आवासीय विद्यालयमा रुपान्तरण भएर विद्यार्थीको शिक्षामा नयाँ शिक्षाको ज्योति थप्ने प्रण गरेको छ ।

Advertisement 2

आवाससहित शैक्षिक यात्रामा नयाँ पाइला चाल्दै गरेको यस विद्यालयको बिहीबार उद्घाटन कार्य सम्पन्न भएको छ । प्रधानाध्यापक टीकाराम राई, स्थानीय तथा वडा सदस्य विशाल राई र स्थानीय युवा नेता भीमराज राईको विशेष अगुवाईमा स्थानीयहरु मिलेर उठाएको आर्थिक रकमबाट आवासीय विद्यालय बनाइएको हो । आवासीय विद्यालय अर्थात् अब, विद्यार्थीले स्कुलमै बसेर गाँस, बाँस र कपाससहितको शिक्षा आर्जन सक्नेछन् । कक्षा–२ भन्दामाथिका विद्यार्थीले आवासीय अध्ययन गर्न पाउनेछन् ।

आवाससहितको शिक्षामा रुपान्तरण भएको विद्यालयको अर्काे मुख्य उद्धेश्य भन्नु अंग्रेजी शिक्षामा थप अग्रसर बन्नु पनि हो । अब, अभिभावकले सन्तानलाई अंग्रेजी शिक्षा पढाउनकै लागि गाउँबाट सहर पस्नुपर्ने अवस्था अन्त्य हुनेछ । मतलब अब गाउँबाट सहर होइन सहरबाट गाउँ। कालिका विद्यालयको मुख्य ध्येय नै यहिँ हो ।

Advertisement 3

बालविकास केन्द्रदेखि कक्षा–२ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको कालिका विद्यालयले प्रत्येक शैक्षिक सत्रबाट तहगत रुपमा क्रमशः अंग्रेजी माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउने प्रधानाध्यापक राईले बताएका छन् । उनका अनुसार अब कक्षागत रुपमा प्रत्येक वर्ष बढाउँदै लगेर कक्षा–८ सम्म नै अङ्ग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ ।

सैद्धान्तिक र प्रयोगात्मक शिक्षालाई जोड दिने कालिका विद्यालयको अर्काे उद्धेश्य हो– शिक्षामा कोही बञ्चित हुन नपरोस् । शिक्षा मानिसको पहिलो आधार हो । शिक्षाबिना चेतना अंकुराउन्न, चेतनाबिना मानिस पूर्ण बन्नै सक्दैन । विद्यालयले विद्यार्थीलाई किताबसँगै कृषिमा विद्यार्थीलाई अब्बल बनाउँदै आइरहेको छ । विद्यार्थी आफैँले विद्यालयको हाताभित्र उत्पादन गरेका मौसमी तरकारीहरु स्थानीय बजारमा बिक्री हुन्छन् । तरकारीबाट आम्दानी भएको रकम विद्यार्थीहरुकै आवश्यकीय कार्यमा खर्च गरिन्छ ।

प्रधानध्यापक राईका अनुसार आवासीय विद्यालयमा रुपमान्तरण भएको कालिका विद्यालयमा यस शैक्षिकसत्रका लागि नयाँ २२ जना विद्यार्थी भर्ना भएका छन् । आवासीय अध्ययनतर्फ १४ छात्र तथा २० छात्रा भर्ना भएका छन् । जसका लागि एक जना महिला र एक जना पुरुष शिक्षक तोकिएको छ ।

आर्थिक संयोजक रहेका वडा सदस्य विशाल राईले अभियान शुरु गरेको छोटो समयमा नै नौँ लाख भन्दा बढी आर्थिक रकम सहयोग प्राप्त भएको बताए । उनका अनुसार विद्यालयलको स्तरोन्नतिमा आर्थिक सहयोगको क्रम जारी छ । साथै, दलित, गरिब र अभिभावकविहीन छात्रछात्राका लागि कोटा निर्धारण गरेर पूर्ण आवासीयरुपमा शुरुवात भएको पनि उनले बताए ।

शिक्षामा नयाँ सुरुवात : गाउँपालिका प्रमुख श्रेष्ठ

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले विद्यालयलाई नयाँ उचाईमा पुर्याउने अभिभावकप्रति धन्यवाद व्यक्त गरे । उनले अभिभावकको सक्रियतामा पूर्ण आवासीय बनाइएको कालिका आधारभूत विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने गाउँपालिका प्रमुख श्रेष्ठले बताए ।

उनले भने, ‘गुणस्तरीय शिक्षामात्र होइन भौतिक सुविधा अभावका कारण कयौँ अभिभावकले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन सकेका छैनन् । सामुदायिकबाट निजी विद्यालयमै लैजाने परिपाटी छ।’ उनले सामुदायिक विद्यालयलाई निजी स्तरसरह पुर्याउने कार्यलाई उचाइमा पुर्याउनका निम्ति गाउँपालिकाले योजना बनाएको पनि बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले दम्कुका स्थानीयवासी एकताको प्रतिक रहेको भन्दै प्रशंसा गरे । ‘दम्कु एकता प्रतिक हो । यो शुभ कार्यमा सबैले हातमा हात, साथमा साथ दिएर यो अभियानलाई सफल बनायो । साँच्चिकै यो उदाहरणीय कार्यको शुरुवात भएको छ,’ उनले यसअघि भने, ‘अब यो एउटा विद्यालयमात्र होइन शिक्षामा नयाँ सुरुवात पनि हो । यसमा गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ आवासीय विद्यालयको गाउँपालिका प्रमुख श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले औपचारिक उद्घाटन गरेका थिए ।

No posts found.