खेलाडी बन्न काठमाडौं छिरेका एम.के राईको कथा-व्यथा
  • कृष्ण राई ‘कृति’

काठमाडौं । सबैको आ–आफ्नै कथा व्यथा हुन्छन् । चाहे ती उच्च ओहोदाका होऊन् अथवा मध्यम तथा पुच्छरका । जिल्लामा बसेर खेलेको खेललाई केन्द्रमा आएर नयाँ पहिचान दिने उनको रहर थियो । केवल खेलमै भविष्य बनाउने भनेर काठमाडौं आए ।

काठमाडौं आएर तेक्वान्दो कराँतेको तालिम पनि लिए । र, एउटै सपना र सोच थियो– ठूलै खेलाडी बन्ने । तर सोचेजस्तो रहरको काठमाडौं कहाँ सजिलो  थियो र । रहर अनि सपना चैतको खडेरीमा परेको पानीजस्तै भयो । आर्थिक अभावको सामना गरेर खेलाडी बन्ने भूत एकाएक हरायो । र, उनले बाटो फेरे । उनको त्यो बाटो थियो आर्थिक स्वतन्त्रता अर्थात् पहिलो आवश्यकता भनेकै पैसा कमाउने रहेछ ।

   

११ फागुन २०४८ मा जन्मिएका हुन्, मणिकुमार (एम.के) राई । हालको खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका उनी सपना विपनामा आफू ठूलै खेलाडी बनेको देख्थे । र, खेलाडी बन्नकै लागी खोटाङदेखि काठमाडौं आए सन् २००९ मा । काठमाडौं छिरेको करिब एक वर्षसम्म त उनले खेलमै भविष्य खोजे । तर, गाउँले कृषकको छोरो घरबाट ल्याएको रकमले काठमाडौं खाल्डोमा कहाँ बस्न खान पुग्यो र । काम खोजेर बस्ने कोठाभाडा अनि खानासम्म पुग्यो ।

उनी सम्झन्छन्, ‘सोचेजस्तो काठमाडौं कहाँ रहेछ । कृषकको छोरो कहाँ खेलाडी बन्न सकिने रहेछ । पैसाबिना टिक्नै सकिएन । गाउँमा हुँदा पैसाको महत्व केही थाहा थिएन, यहाँ आएपछि थाहा भयो । भोको पेटले के को खेलाडी भइने रहेछ ? खेलाडी बन्छु भन्दा कसले पत्याउने ? अनि बाटो फेरेँ।’

काठमाडौंको भत्केको पुलनजिक हुँदै जोरपाटीको डेरामा बसे । दिक्तेल बहुमुखी क्याम्पसबाट प्लस टु सकाएर खेलाडी बन्ने एउटै जाँगर लिएर आएका उनी यहाँ आएर पढ्न पनि पर्यो भनेर पशुपति बहुमुखी क्याम्पसमा भर्ना भए । तर, पैसाको अभावले भर्ना भएर केही समय कक्षा लिए पनि अध्ययनले गति लिन सकेन । र, यत्तिकैमा अध्ययन रोकियो ।

उनी काठमाडौं छिर्नु र कोरियन भाषा इपीएसमार्फत कोरियामा काम गर्न जाने अवसर आउनु एउटै बन्यो । सन् २००८ देखि इपीएस प्रणालीबाट नेपाली कामदार कोरिया लैजान सुरु भयो । खेलाडी बन्ने सपना चटक्कै त्यागेका उनले अब कोरियाको सपना देख्न थाले । जसरी हुन्छ कोरिया छिर्ने, रकम कमाउने अनि सन्ततिलाई आफूले चाहेको बाटो हिँड्न सिकाउने ।

सन् २०१० देखि कोरियन भाषा पढ्न थाले । खेल्ने बानीबाट पढ्ने बानीमा रुपान्तरित हुन उनलाई समय लाग्यो, पढ्न, घोक्न, लेख्न साह्रै गाह्रो भयो तैपनि छाडेनन् । शब्दकोष कण्ठ पार्न कोठाको भित्ताभरी नै कोरियन शब्द अर्थ (मिनिङ)हरु लेखे, किचनमा किचनको नाम, ढोकामा ढोकाकै नाम (मुन) कोरियनमै, शौचालयको ढोकामा शौचालयको नाम (हजाङ्सी), झोला ( खाबाङ) पनि कोरियनमै । कोठामा बस्दा जता जता जानु छ उता उता सबै कोरियन अक्षरमै नाम लेखेर शब्द अर्थ रट्न थाले । तैपनि दिमाग एकाग्र हुन सकेन ।

‘खेल्ने बानीबाट पढ्ने बानी बसाल्न साह्रै गाह्रो भयो । भाषा पढ्दा नसकिने रहेछ भनेर २० दिन छाडे । तर, पैसा र भविष्य कतै नदेखेपछि फेरि कोरियन भाषा नै पढ्न फर्किएँ,’ उनी विगत सम्झिन्छन्, ‘म कण्ठभन्दा पनि सुनेर बुझ्ने । यद्यपि, चाह्यो भने मान्छेले जे पनि गर्न सक्ने रहेछ । मैले पनि कर काटेरै भाषा पढेँ ।’ र, सन् २०११ मा भाषा परीक्षा उत्तीर्णसँगै कोरिया उडे ।

कृषि क्षेत्रतर्फ भाषा परीक्षामा नाम निकालेर कोरिया गएर फर्किए । कोरियाको संघर्षका कथा एउटा पुस्तक नै बन्छ । जीवन भोगाइ हो र संघर्ष जीवनको अन्त्यसम्म नै जारी रहन्छ । उनी भन्छन्, ‘महिना दिन नहुँदासम्म काममा गोरुजसरी नारिनुपर्ने, काम सम्झिदा चटक्कै छाडेर स्वदेश नै फर्केर केही गर्ने इच्छा पलाउँथ्यो । तर, महिना दिन मरेपछि पैसाको बिटो आउँदा फेरि चुपचाप काममा जोतिएर चित्त बुझ्थ्यो ।’

कडा परिश्रम र सन्तोष ज्यान लिएर स्वदेश आएका उनी फेरि कोरिया जाने कि नेपालमै बस्ने दोधारमा परे ।  नेपालम बस्दा के गर्ने ? कोरियाको सीप, अनुभव नेपालमा साट्दा बिक्ने तर, उचित मूल्य नपाउने । कृषकले दुःख गरेर फल फलाउछ तर छैन मूल्य, छैन बजार । अब के गर्ने त ? त्यसो त काठमाडौंमा पाएका दुःखका क्षणहरु सम्झिदा उनी भाबुक हुन्छन् । बेलाबेला कोठामा ग्याँस किन्ने पैसा नहुँदा, साहूले आमाचकारी गाली गरेका ती क्षणहरु सम्झिदा कयौपटक एक्लै रोएका छन् ।

उनीसँग कोरियामा बस्दा हासिल गरेको भाषिक दख्खल थियो । र उनले अब आफ्नो दख्खलतालाई नै व्यवसायिक रुप दिने कि भनेर सोचे । एक्लै सम्भव छ त ? साथीसँग मिलेर शैक्षिक व्यवसायिक कम्पनी नै खोलेर सन् २०१७ देखि भाषासम्बन्धी कक्षा सञ्चालन गरे । शैक्षिक व्यवसाय थालनी गरेको २ वर्ष बित्दा नबित्दै कोरोना महामारीले संसारमा रुवाबासी चल्यो ।

वर्षाैँसम्म देश लकडाउन भयो । व्यवसाय ठप्प । कोठाभाडा तिर्नैपर्यो । चल्नका लागि बचत पैसा महामारीले निल्यो, व्यवसाय ऋणपान गरेर अघि बढाउनुपर्यो । कोरोना महामारीसँगै साथीसँगको सहकार्य पनि टुट्यो र चुनौतीको सामना गरेर कम्पनीको जिम्मा उनैले लिए । आफूसँग भएको दक्षताले अरुको भविष्य बन्छ भने किन चुनौती नमोल्ने ? सानो गुणले ठूलो उद्धार हुन्छ भने किन सेवा नगर्ने ?

यहिँ सोचेर स्थापना भएको मुन स्काई कोरियन हब आज ६ वर्ष पूरा भएको छ । र, निरन्तर रुपमा शैक्षिक सेवा प्रदान गरिरहेको छ । र, त्यसका प्रबन्ध निर्देशक हुन् एम. के राई । चाबहिलको चुच्चेपाटीमा प्रधान कार्यालय रहेको मुन स्काई कोरियन हबको चाबहिलमै अहिले २ वटा शाखा छन् । जहाँबाट विद्यार्थीले भाषासम्बन्धी ज्ञान लिइरहेका छन् ।

मुन स्काईले विद्यार्थीलाई भाषामा दख्खलता प्रदानसँगै इपीएस भाषा उत्तीर्णपश्चात् युबिटी परीक्षण पनि गराउने गर्दछ । ताकि विद्यार्थीलाई दुवै परीक्षामा कुनै समस्या नहोस् । कम्पनी स्थापना गरेर शैक्षिक सेवाका हिसाब प्रदानको हिसाबले उनी प्रफुल्लित छन् । कमाउने जानेले दुःखअनुसारको प्रतिफल पाउँदा पनि उनी उत्तिकै खुसी छन् तर उनीहरु त्यहाँबाट फर्किएर आएपछि फेरि बेरोजगार हुनुपर्ने देशको प्रणाली देख्दा दुःखित छन् ।

इपीएसमार्फत नेपालीहरु भाषा परीक्षा उत्तीर्णपछि प्रयोगात्मक परीक्षा पास गरेर कोरिया जालान्, कमाउँलान् । तर, फर्केर आउने त स्वदेश नै हो नि । करार अवधिपछि स्वदेश फर्किएपछि उनीहरुको सीप स्वदेशमै सदुपयोग गर्नुपर्ने कि फेरि विदेश ? देशमा रोजगार सिर्जनाको बाटो ठप्प भएको अवस्थामा यो विडम्बना देख्छन् उनी ।

‘कोरिया, जापान, युरोप गएर मात्र रोजगारको विकल्प होइन । क्षणिक आर्थिक उपार्जन न हो सरल भाषा भन्नुपर्दा । र, श्रम गर्न जाँदा श्रमअनुसारको ज्याला पाउनु त सुखद पक्ष हो । तर, देशमा रोजगार सिर्जना हुने वातावरण बन्ने कि सबैले भविष्य कोरियामा नै खोज्ने या देशलाई ढिलो चाँडो कोरिया बनाउने । यतातिर राज्यले ध्यान दिएर क्रान्तिको मुहान खोले युवाहरु विदेश पलायन होइन स्वदेशमै बिक्थे,’ उनी थप्छन्, ‘तर युवाहरु स्वदेश बनाउने उमेरमा विदेश नगई भएको छैन । सरकारको आश छैन, भर परे भविष्य डुब्ने खतरा छ ।’

कोरिया बसेर केही सिके, केही कमाए पनि तर देशमा निम्छरो गरिखानेलाई कहिल्यै कमाउने र बस्ने अवस्था सिर्जना भएन । व्यवसाय गरेर कमाएको जति कोठाभाडा र राज्यलाई कर तिर्दा ठीक । राज्य छ भन्ने भान कहिल्यै नहुने, सधैँ जनता चुस्ने । साना सधैँ पिल्सिनुपर्ने, ठूला सधैँ उम्किनुपर्ने । यो प्रणाली कहिले सच्चिएला भन्ने उनको पीर छ तैपनि जसोतसो जीवनगुजारा चलाउनु नै छ ।

  • January 7, 2024 प्रकाशित
  • सम्बन्धित