ल्याण्डफिल्ड साइटमा छोराको विवाह हुनै गाह्रो (भिडियो)
  • मूलधार

काठमाडौं । काठमाडौंको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ । यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन् । त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ ।

कृषि उत्पादनमा कमी हुँदै ग्एको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ । स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ । ल्याण्डफिल्ड साइट रहेको सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रको जमिन किनबेच हुँदैन ।

साथै बैंकले धितोसमेत अस्वीकार गर्न थालेको छ । यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प भएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ककनी गाउँपालिका २ का स्थानीय विश्वनाथ बजगाईं र राजकुमार घिमिरे फोहोर आएपछि अहिले ६५ प्रतिशत मानिसलाई क्यान्सर बढेको बताउछन् । जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरुमा रहेको जिकिर उनीहरुको छ । उनीहरुले कृषि उत्पादनहरुमा पनि किरा लाग्ने र बिग्रिने गरेको बताए । फोहोरको गन्धले टाउको दुख्ने समस्या त दैनिक रुपमा नै भोग्नुपर्ने अवस्था रहेको बताए ।

ल्याण्डफिल्ड साइट क्षेत्रमा आर्थिक चक्रमात्र बिथोलिएको होइन, सामाजिक चक्रसमेत प्रभावित हुन थालेको छ । स्थानीय युवतीहरुको विवाह गाउँ बाहिर भएपनि बाहिरबाट विवाह भएर आउनेमा कमी भइसकेको छ । यस क्षेत्रमा बाहिर गाउँ समुदायको कसैले पनि छोरीचेली दिन मान्दैनन् । छोराको बिहेवारीमा कमी हुँदै गएको छ । आफ्नो जग्गा छोडेर स्थानीयहरु बिस्थापित हुनुपर्ने अवस्था आइसकेको गुनासो उनीहरुको छ । ककनी गाउँपालिका ३ का स्थानीय मनिष ढुंगाना र कृष्णहरि ढुंगानाले फोहोरका कारणले विभिन्न क्यान्सरका रोगदेखि फलफूल लगायतका कृषि उब्जनीमा ह्रास आएको बताए ।

फोहोरकै कारणले विवाह गर्न नमान्ने, जग्गा बैंकमा राखेर बैंकले ऋण नदिने समस्या भइरहेको उनीहरुको भनाइ छ । युवतीहरुको विवाह गरेर अन्यत्र जान केही सहज भएपनि अन्यत्र ठाउँमा विवाहका लागि युवकहरुलाई युवती खोज्न समस्या भइरहेको बताए । अन्यत्र स्थानका मानिसहरुले फोहोर फाल्ने ठाउँ भएकै कारण कन्या नदिने गरेको बताए ।

नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहनेगरी शुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल्ड अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर निरन्तर फाल्न थालेको १९ वर्ष बढी भइसकेको छ ।

फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् । यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ । स्थानीय गाउँ छोडेर बसाईं सर्न थालेका छन् । केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

  • प्रसन्न ढुंगाना/निमेष गुरागाईं, न्युज एजेन्सी नेपाल

 

  • January 3, 2024 प्रकाशित
  • सम्बन्धित