रविदेखि प्रचण्ड ओलीसम्म, खोयादेखि जुत्ता प्रहारसम्म (यस्तो छ घटनाक्रम)
  • मूलधार

काठमाडौं । ‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु । प्रतिशोध लिएर होइन, शिक्षा लिएर । बाटो बिराइस भने आज त तैले मकैको घोगा भेटिस, बाटो बिराइस भने के पाउँछस् कल्पना गर भनेर दिइएको छ । मैले यसलाई सकारात्मक रुपमा लिएको छु ।’

शनिबार पोखरास्थित अमरसिंहचौरको सभालाई सम्बोधन गरिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भयो । मकैको खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाट थिए । रानाभाटले अमरसिंहचौरको सभामा लामिछानेको भाषण सुन्नेक्रममा एक्कासी सभापति लामिछानेमाथि खोया प्रहार गरेका थिए।

सम्बोधनको क्रममा लामिछानेलाई मकैको खोया हान्ने रानाभाट अहिले प्रहरीको अनुसन्धानमा छन् । प्रहरीले मज्जाले अनुसन्धान गर्न पीडित पक्षको निवेदन चाहिन्छ । तर, खोया प्रहारबाट कुनै भौतिक क्षति नव्यहोरेका रविले भने प्रहरीसामू कारबाहीको सट्टा घरमा खोया सजाएर राख्ने भनेका छन् ।

नेपाली राजनीति होस् या अन्तर्राष्ट्रिय राजनीतिमा होस् जुत्ता प्रहार भएको घटना त सुन्दै आइएको छ । तर, रविमाथि प्रहार भएको खोया भने नयाँ र रोचक पनि छ । आखिर रविमाथि किन जुत्ता, ढुंगा मुढा प्रहार नभएर खोया प्रहार भयो ? हुन त आक्रमणकारीसँग जे उपलब्ध थियो त्यसैले प्रहार भयो भन्ने अड्कलबाजीभन्दा अरुअड्कल काट्न सकिन्न । त्यसो त खोयाले लाग्दैमा कुनै त्यस्तो दर्द नै हुन्छ न त अस्पताल भर्ना नै हुनुपर्ने । यद्यपि, घटना सुन्दा भने अचम्म नै छ ।

मकैको खोया प्रकरणले जुत्ता झटारो प्रकरणलाई भने थप सतहमा ल्याएको छ । तर, नेपाली राजनीतिमा पहिलोपटक जुत्ता नभएर खोया प्रहारको घटना भने सायद पहिलो होला । र, अहिले यो प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

यो घटनाक्रमलाई यतिमै बिट मारेर जुत्ता प्रकरणतिर जाऔँ । घटना हो, २०७६ फाल्गुन १८ गते आइतबारको । राष्ट्रिय सभागृहमा नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम थियो । त्यहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष सम्बोधन थियो ।

सभालाई सम्बोधनकै क्रममा प्रचण्डमाथि लामिछानेजसरी नै खोया नभएर जुत्ता प्रहार भयो । तर, प्रचण्डमाथि प्रहार भएको जुत्ता प्रहार भने पहिलो घटना होइन । त्यसो त प्रचण्डमाथि चियापान कार्यक्रम पदम कुँवरले प्रचण्डमाथि झापट नै हानेको घटना त झन् उत्तिकै चर्चामा छ ।

अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलमाथि २०५१ सालमा जुत्ता प्रहार भयो। उनीमाथि संसदमै जुत्ता प्रहार गरिएको थियो । उनलाई एमालेबाट राष्ट्रिय सभामा सदस्य बनेका गोल्छे सार्कीले जुत्ता हानेका थिए ।

२०६९ साउन ३ गते भृकुटीमण्डप तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलगायतत नेताहरूमाथि आफ्नै पार्टी कार्यकर्ता कुर्सी नै उचालेर हानेका थिए । त्यो घटना पनि भाइरल नै भयो ।

नेपालमा घटेको यो घटना नयाँ भने होइन १४ डिसेम्बर २००८ का दिन तत्कालीन अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुशमाथि जुत्ता प्रहार भयो । उनी इराक भ्रमणमा थिए । इराक भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनीमाथि एक पत्रकारले जुत्ता प्रहार गरेका थिए । त्यसो त ईरानी राष्ट्रपति हसन रुहानीमाथि अण्डा र जुत्ता नै प्रहार भएको थियो ।

यस्तै, २०६७ माघ ७ गते तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि हातपात नै गरिएको थियो । उनलाई आफ्नै कार्यकर्ताले झापट हानेका थिए । उनलाई झापटे प्रधानमन्त्री भनेर समेत भनियो । किनकि झापड खाएको १५ दिनछि खनालले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

२०६९ असोज १३ गते नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई आफ्नै कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए। कुर्सी प्रहारबाट कोइरालालाई सामान्य चोट पनि लागेको थियो ।

जुत्ता, कुर्सी र झापट प्रहारका घटना सम्झने हो भने कति छन् कति । हालसालै नेकपा एमालेका अध्यक्ष ओलीमाथि झापट प्रयासको घटना त अझैँ ताजै छ । एमालेको जारी संकल्प अभियानका क्रममा धनकुटाको लेगुवाघाटमा ओलीलाई माला लगाएर सम्मान गर्ने क्रममा स्थानीय महेश राईले झापड हानेका थिए ।

  • December 23, 2023 प्रकाशित
  • सम्बन्धित