बालुवाटारमा गंगाको रजगज

गंगाको हातमा प्रधानमन्त्री निवासको होइन सत्ताकै चाबी

  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको एक वर्ष पुग्नै लाग्दा उनको सचिवालयका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिए । प्रधानमन्त्रीले आफ्नो कुरा नसुनेको बताउँदै गजुरेलले राजीनामा दिएपछि माओवादी केन्द्रभित्र खैलाबैला नै मच्चियो ।

हुन त प्रचण्डको सचिवालयमा जो जुन पदमा नियुक्त भएपनि उनीहरू जागिरे मात्रै भएका छन् । त्यहाँ चल्ने भनेको गंगा दाहालको मात्रै हो, किनकि उनी प्रचण्डको स्वकीय सचिव मात्रै होइन, छोरी पनि हुन् । प्रचण्डको एक मात्र छोरा प्रकाश दाहालको निधनपछि उनको भूमिका कान्छी छोरी गंगाले निभाउँदै आएकी छन् । मृत्यु हुनुअघि प्रचण्डको सचिवालयको नेतृत्व प्रकाशले सम्हाल्दै आएका थिए ।

प्रकाशको निधनपछि प्रचण्डको सचिवालयको नेतृत्व गंगाले गर्दै आएकी छन् । अहिले भेटघाट गराउनेदेखि प्रधानमन्त्रीको समय व्यवस्थापन गराउनेसम्मको भूमिकामा उनकै हुन्छ । प्रधानमन्त्रीका मुख्य सल्लाकार गजुरेलले राजीनामा दिनुको एउटा कारण गंगा पनि भएको बताइन्छ । गंगाले अरूलाई गन्दै नगन्ने, सचिवालयमा हैकम जमाउने र आफूखुशी गर्न थालेपछि गजुरेल राजीनामा दिन बाध्य भएको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।

हुन त गत पुस १३ गते प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्दा चाबी उनै गंगाले बुझेकी थिइन् । तर, गंगाको हातमा प्रधानमन्त्री निवासको चाबी मात्रै होइन, सत्ताकै चाबी पनि छ । सुरक्षा निकायका अधिकारीहरूले समेत उनै गंगालाई फोन नगरी प्रधानमन्त्रीसँग भेट गर्न सक्ने अवस्था छैन । कर्मचारीको सरुवा–बढुवा, नीतिगत निर्णयलगायत विषयमा गंगाकै हस्तक्षेप हुने गरेको छ ।

कर्मचारीको सरुवा–बढुवा, नीतिगत निर्णय र सचिवलायमा मात्रै होइन, कूटनीतिमा पनि प्रचण्डको ‘छोरी मोह’ झल्किएको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा होस् या त भारत नै जाँदा किन नहोस्, गंगालाई प्राथमिकताका साथ सहभागीता गराइएको थियो ।
प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली चियाङसँग गरेको प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा गंगालाई सँगै राखेका थिए ।

त्यसअघि भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्दा पनि गंगालाई सँगै राखेका थिए । प्रधानमन्त्री प्रचण्डले कूटनीति वार्तामा पनि छोरी गंगालाई सहभागीता गराएपछि चौतर्फी आलोचना भएको थियो । खासगरी सरकार प्रमुखले यस्ता उच्चस्तरीय भ्रमण गर्दा हुने प्रतिनिधिमण्डलस्तरीय बैठकहरूमा दुवै देशका उच्च सरकारी अधिकारीहरू मात्र सहभागी हुने गर्छन् ।

पछिल्लो समय सांसद अमरेशकुमार सिंहले गंगामाथि गम्भीर आरोप लगाउँदै आएका छन् । गंगाले व्यापारीहरूसँग पैसा लिने गरेको प्रमाण आफूसँग भएको उनले बताउने गरेका छन् । गंगाले व्यापारीहरूको पैसा पनि खाएको र काम पनि नगरेको सिंहले सार्वजनिक रूपमा भन्दै आएका छन् ।

त्यतिमात्रै होइन गंगाकै आदेशमा चलेका कर्मचारीहरूको पनि निगरानी गरिरहेको सिंहले बताउँदै आएका छन् । तर, गंगा भने आफूमाथि गम्भीर आरोप लाग्दा पनि चुपचाप बसिरहेकी छन् । सामान्य कुरासमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गंगा आफूमाथि लागेको गम्भीर आरोपबारे चुइक्क पनि बोलेकी छैनन् । प्रधानमन्त्री प्रचण्डले भने छोरी गंगाको बचाउ गर्ने गरेका छन् । एनसेल प्रकरणका सम्बन्धमा मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले छोरी गंगाको नाम उचाल्नुलाई लोकतन्त्र र गणतन्त्रमाथिको हमलाको रुपमा व्याख्या गरेका छन् ।

त्यसो त गंगाको हैसियत प्रधानमन्त्री पुत्री र स्वकीय सचिव मात्रै होइन । उनी नेकपा माओवादी केन्द्रकी एक केन्द्रीय सदस्य पनि हुन् । उक्त आरोपबारे भएको सत्यतथ्य गंगाले सार्वजनिक गर्नुपर्छ । बालुवाटार बसेर घात गर्ने उनलाई कुनै छुट छैन । यदी सांसद अमरेशको आरोप गल्ती हो उनीमाथि कारबाही हुनुपर्छ । अमरेशको आरोप स्वीकारेर मौन बस्ने हो भने गंगालाई प्रधानमन्त्रीको सचिवको हैसियतले बालुवाटारमा हैकम जमाउने कुनै अधिकार छैन, कारबाहीको दायरामा ल्याउनै पर्छ ।

  • December 20, 2023 प्रकाशित
  • सम्बन्धित