यत्तिको जागरणले मात्र किरात-लिम्बुवान प्रदेश ल्याउन सकिँदैन : गोपाल किराती
  • मूलधार

काठमाडौं । गोपाल किराती पूर्वमाओवादी एवं पूर्वमन्त्रीसमेत हुन् । माओवादीबाट निर्वाचन जितेर सत्तामा पुगेर सत्ताको अनुभव बटुलिसकेका उनी अहिले कम्युनिष्ट आन्दोलन होइन पहिचानको आन्दोलन र अभियानमा सक्रिय छन् ।

अहिले उनी कुनै समय आफ्नो ज्यानै दिन तयार माओवादी पार्टी, त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मैदानमा छन् । सहर त्यागेर गाउँ छिरेका किराती सत्ताधारी दलसँगै प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चामा छन् । उनी प्रदेश नम्बर १ को नाम कोशी राखिएसँगै पहिचानको आन्दोलनमा अग्र भूमिकामा रहेर विरोध जनाइरहेका छन् ।

यसैक्रममा घुर्मीदेखि चिवाभन्ज्याङसम्म पहिचानवादी जागरण २०८० सफल पार्न उनी लौरो टेकेर अभियानमा लागे । अभियानलाई सशक्त रुपमा अघि बढाउने क्रममा उनी पक्राउ परे । यद्यपि, उनीसँगै पक्राउ परेका अन्य पहिचानवादीहरु रिहा भएका छन् ।

अभियानका क्रममा पक्राउपछि रिहा भएका किरातीले आफूहरुको अभियान सशक्त र यसले बलियो सन्देश दिएको दाबी गरेका छन् । उनको नजरमा पहिचानवादीहरु सडकमा र पहिचानविरोधीहरु सत्तामा आसिन रहेपनि पहिचानवादीहरुको विजयी हासिल भइसकेको उनी बताउँछन् ।

रिहाइपछि उनले भनेका छन्, ‘पहिचानविरोधीहरु अहिले सत्तामा छन् । केन्द्र र प्रदेशको सरकारमा को छ ? भन्ने अर्काे कुरा हो । मुख्य कुरा त्यो होइन । विचारधाराको हिसाबले पहिचानविरोधीहरु सत्तामा छन्, पहिचावादीहरु सडकमा छन् । पहिचानविरोधी खड्गप्रसाद ओलीहरुलाई विचारधाराको हिसाबले हामीले चिहानमा गाडेका छौँ । पहिचानको कुरा गर्दा सशक्त ढंगले प्रतिपक्ष स्थापित गरेका छौँ र विजयी हासिल पनि गरेका छौँ ।’

कोशी प्रदेश नामकरणमा ओली नेतृत्वको एमाले बाधक रहेपछि संघीय लोकतान्त्रिक गणतन्त्रले स्थापना गरेको पहिचान हरण भएको किरातीको भनाइ छ । साथै, प्रदेश नामकरणको सन्दर्भमा ओली नै मुख्य बाधक रहेको पनि उनको स्पष्ट धारणा रहेको छ ।

उनी भन्छन्, ‘राजनीतिक मुद्धाको हिसाबले ओलीजीलाई चिहानमा गाडिसकेका छौँ । २०३६, ०३७ सालमा जनमत संग्रह भयो । निर्दलीय, बहुदलीय जुनसुकै पक्षमा उभिने अवसर थियो । थोरै प्राविधिक कारण निर्दलीयको जीत भयो, बहुदलीयको पराजय भयो । २०३७ सालको जनमत संग्रहले सत्ताधारी विचार अर्थात निर्दलीय व्यवस्था स्थापना गरेपनि प्रतिपक्षका रुपमा बहुदलको विचार स्थापना भएको थियो । त्यसको ९ वर्षपछि बहुदलको विचार स्थापना भयो । यसैगरी अहिले पहिचानविरोधीहरु सत्तापक्षमा छन् ।’

अभियानको दौडाइ र पहिचानको लडाइमा रहेका किरातीले अहिलेको जागरणले मात्र कोशी प्रदेशको ठाउँमा पहिचानको नाम राख्न नसक्ने निष्कर्ष सुनाएका छन् । यसका लागि वैचारिक, संगठनात्मक हिसाबले अघि बढ्नुपर्ने उनको ठम्याइ छ ।

उनी भन्छन्, ‘यत्तिको जागरणले मात्र किरात प्रदेश ल्याउन सकिँदैन, लिम्बुवान प्रदेश ल्याउन सकिँदैन, शेर्पालु प्रदेश ल्याउन सकिँदैन, कोचिला प्रदेश ल्याउन सकिँदैन । त्यसैले हाम्रो जागरणलाई बौद्धिक, वैचारिक, राजनीतिक संगठनात्मक र संरचनाको क्षेत्रमा चौगुणा वृद्धि गर्न जरुरी छ । त्यसका निम्ति आजैबाट अघि बढौँ । पहिचानवादी जागरण अभियान समापन भइसकेको छैन र यसको समापन कसरी गर्ने ? भन्ने सन्दर्भमा संघर्ष समितिमा छलफल हुनेछ ।’

 

  • December 18, 2023 प्रकाशित
  • सम्बन्धित