बडिगाडमा एकै रातमा ६ घरबाट सुनसहित ५ लाख बराबरको चोरी
  • राम प्रसाद घिमिरे

बागलुङ । बागलुङ जिल्लाको बडिगाडमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ। बडिगाड गाउँपालिका वाडा नम्बर ५ खौलार बजारमा मंगलबार राति एकै साथ ६ घरबाट सुन सहित ५ लाख बराबरको चोरी भएको हो ।

घनाबस्ती भएको बजारका आधा दर्जन घरमा एकैरातमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन् । मंसिर १९ गते रातको २ बजेको हाराहारीमा बजारका ५ बटा पसल तथा एक घरमा नगद र सुनचाँदी गरि ५ लाख बराबरको चोरी भएको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।

मंगलबार रातको २ बजे देखि ३ बजेको समयमा टारी स्थित अर्जुन प्रसाद खरेलको घरबाट साढे ३ तोला सुन, खौलार बजारको प्रज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट ५ हजार, र कक्षपती स्टोर्सबाट ४ हजार नगद चोरी भएको आचार्यले बताए ।

सबै घरहरुका ताल्चा फुटालेर चोरहरु प्रवेश गरेको पाइएको छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी गरिएको पीडितले बताएका छन्।

चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसिक्यामेरामा देखिएको दृश्य अनुसार एकजना अधबैंसे पुरुष मुहारमा मुकुण्डो लगाएको, झोला बोकेको र पीपिइ लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रा सहित चोरी गरेको छ ।

चोरीको प्रकृति हेर्दा निकै अनुभवी र बिषयमा जानकार रहेको हुनसक्ने देखिन्छ ।

गाउँपालिका तथा प्रहरी चौकी नजिकैको मुख्य व्यापारीक केन्द्र मै एकैसाथ धेरै घरमा चोरी हुँदा स्थानीयहरुले असुरक्षित महसुस गरेका छन्।

घटनाको विषयमा लगत संकलन तथा पीडितसँग सोधपुछसहित थप अनुसन्धान भइरहेको खार प्रहरीका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र दर्लामीले बताए ।

उक्त श्रृखंलाबद्ध चोरीको घट्नामा प्रहरीले अनुसन्धान गरीरहेको र यो समाचार तयार पार्दासम्म कसैलाई समात्न नसकिएको प्रमुख दर्लामीले बताए ।

गाउँपालिकाको केन्द्र नजिकैको बजारमा भएको चरणबद्ध चोरीको घटनाले सुरक्षा चुनौती बढेको र सुरक्षा निकायसँग समन्वय गरी पालिका भित्रका सिसिक्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

  • December 7, 2023 प्रकाशित
  • सम्बन्धित