काठमाडौं । आगामी चैतमा १७ औँ बज्रगुरु मन्त्र जप कार्यक्रम भव्य रुपमा आयोजना गर्न लागिएको छ । साउन १३ गते शनिबारका दिन धर्म डाँडा शेर्पा समाजको सचिवालमा बज्रगुरु मुल आयोजक समितिका अध्यक्ष दा गेल्जे शेर्पाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले १७ औँ बज्रगुरु मन्त्र जप कार्यक्रम सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ स्थित कुरिमामा रहेको देक्षेन छयोलिङ गुम्बामा आयोजना गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण मानव जगत र प्राणीहरुका हित एवं रक्षासँगै विश्व शान्तिका लागि कामना गर्दै प्रत्येक वर्ष बज्रगुरु तुङ्ग्युर (१० करोड) मन्त्र जप कार्यक्रम आयोजना गर्ने गरिएको छ । यसअघि १६ औँ मन्त्र जप कार्यक्रम सिन्धुपाल्चोकमा समापन भएको थियो ।
बज्रगुरु मन्त्र गुरु पद्यसम्भव वा गुरु रिम्पोचेको साररुपका रुपमा लिइन्छ । उक्त मन्त्र जप कार्यक्रम बौद्ध धर्मालम्बीहरुले लामो समयदेखि बौद्ध धर्मका परमपुज्य धर्मगुरुहरुको अगुवाइमा विभिन्न जिल्लाका गुम्बाहरुमा आयोजना गरिँदै आएको छ । प्रत्येक वर्षझै यस वर्ष भने सोलुखुम्बुमा मनाउन लागिएको छ ।
मन्त्र जप कार्यक्रमको मूल आयोजक धर्म डाँडा शेर्पा समाज रहेको छ भने सह–आयोजकतर्फ समाजभित्रका गुम्बाहरु (बागुर गुम्बा, योनेम गुम्बा, कुरिमा गुम्बा, मुडे गुम्बा, चित्रे गुम्बा र दोद्रे गुम्बा) रहेका छन् ।
१७ औँ मन्त्र जप कार्यक्रम सम्पन्न गर्नका लागि सह–आयोजक रहेका प्रत्येक गुम्बाहरुबाट एक/एक जना प्रतिनिधि, अन्य संघसंस्थाका प्रतिनिधि र त्यस भेगका अन्य व्यक्तिहरुसमेतको जिम्मेवारी रहने समितिले निर्णय गरेको छ । साथै, कार्यक्रम सम्पन्न गर्नका लागि सल्लाहकार, पदाधिकारी, कार्यकारिणी सदस्यहरुको छुट्टै केन्द्रीय कार्यसमिति गठन गर्ने र उक्त कार्यसमितिले १७ औँ मन्त्र जप कार्यक्रमका सम्पूर्ण हिसाबकिताब, अन्य कागजपत्रहरु र भौतिक सामग्रीहरु मूल आयोजक एवं सहआयोजकलाई बुझाइसकेपछि स्वतः विघटन हुने पनि समितिले निर्णय गरेको छ ।
यसैगरी, १७ औँ बज्रगुरु मन्त्र जप कार्यक्रमका लागि केन्द्रीय कार्यसमितिले गाउँमा भएका प्रत्येक सह–आयोजक गुम्बाहरुको एक एक जना प्रतिनिधि र गाउँमा बस्ने अन्य व्यक्तिहरुसमेत जिम्मेवारी हुने गाउँ सब–कमिटी गठन गर्ने र उनीहरुलाई कार्यक्रम सञ्चालन हुने स्थानमा आइपर्ने आवश्यक कार्य र अन्य समस्याहरुको समाधानका लागिसमेत जिम्मेवारी तोकिएको छ ।