खुसीले रोए हर्क साम्पाङ, नाचे धराने जनता
  • मूलधार

काठमाडौं । सुक्खायाम लागेयता धरानमा खानेपानीको निकै हाहाकार हुने गर्छ । खडेरी बढ्दै गएपछि धरान ‘काकाकुल’ बन्दै थियो । धराने खानेपानीमा योगदान गर्ने साना स्रोतहरू सुकेपछि धरानमा पानीको हाहाकारै मच्चिन पुग्यो । धराने जनताले यस्तो सास्ती खेप्नुपरेको नयाँ समस्या भने होइन, वर्षाैँदेखि झेल्दै आएको समस्या हो । स्रोतमै पानीको अभावले खानेपानीको नालामा पानी आएकै थिएन । नालामा खानेपानी नआएपछि स्थानीयहरूको हुल उपमहानगर पुगेर मेयर हर्क साम्पाङलाई गुनासो गर्थे ।

स्थानीय जति गुनासो गर्छन्, धरानको खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डाले मेरयमा निर्वाचित भएका साम्पाङ उति नै पिरोलिन्छन् । धरानको मुख्य समस्या खानेपानीको समाधान गर्न उनले खोला खोल्सामा श्रम अभियान निरन्तर चलाउदै आएका छन् । अन्ततः मेयर साम्पाङले श्रमदान अभियान चलाएरै करिब ४२ किलोमिटर दूरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् ।

श्रमदान अभियान सुरु गरेको ९८ औं दिनमा मंगलबार मध्यराति कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरियो । काकाकुल धरानलाई कोकाहाको पानीले राहत भने थपेको छ । खानेपानीको चरम अभावमा मेयर आफैँ फिल्डमा खटिएर जनतासामू नालाबाट पानी झरेको यो पहिलो ‘इतिहास’ हो । मेयर आफैँ भीर पाखा पुगेर नाला टाँगेर खडेरीमा पानी खसालेको अवसरमा धरानका जनताले मेयर साम्पाङलाई उचालेर नुहाइदिए ।

दृश्य हेर्दा लाग्थ्यो साँच्चै मन मुटु कमाउने चलचित्र जस्तो । धराने जनताले हर्कलाई उचालेर नुहाइदिए । पानी आएको खुसीयालीमा हर्क भने खुबै रोए । साँच्चै पानीजस्तै कति कञ्चन मन, कति सफा विचार छ मेयर हर्कको । उनको बोलाइ र गराइमा कुनै फरक छैन । जनप्रतिनिधि भनेको देखाउने होइन खट्ने र नतिजामुखी नै हुनुपर्छ अर्थात् हर्क साम्पाङजस्तै । यति गरे ढिलोचाँडो देशले अवश्य नयाँ स्वरुप लिन्छ नै ।

मेयर हर्क कोकाहाको पानी पकुवा खोलासम्म नल्याइ घर नै जान्न भन्दै रातभर काममा खटिएका थिए । राति १२ बजेर ३ मिनेटमा उनले दिएको बचन पूरा गर्दै पानी झार्न सफल भए । राजनीतिक दल, दलका नेताहरु एवं आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाटै उनी कोकाहाको पानी ल्याउन सफल भए । कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए ।

पानी नल्याएसम्म घर नफर्कने घोषणै गरेका उनी आइतबार र सोमबार राति घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए । मंगलबार राति पकुवासम्म कोकाह खोलाको पानी आएपछि मेयर साम्पाङ भावुक हुँदै रोए । कोकाहा खोलाको मुहान धरानको वडा नं २० स्थित हात्तिसारमा नै पर्छ । उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भएपनि विजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटि फ्लोमार्फत नै पाइपलाइन विछ्याएर पानी ल्याएका हुन् ।

पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भुभाग हुँदै करिब ४२ किलोमिटर विछ्याइएको छ । कठिन पहाडी भुभाग कटेर मानव वस्तीसम्म आइपुगेको पानी अब करिब ७ किलोमिटर दुरीमा मात्र सुम्निमा र स्वास्तिका ट्यांकी छ । पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइनेछ ।

कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो । प्रत्येक शनिबार ५ हजार भन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरु श्रमदानमा आउने गरेका थिए । मेयर हुनुअघि पनि उनले खानेपानी आपूर्तिका लागि निरन्तर अभियान चलाएका थिए । खानेपानी माग गर्दै दिनहुँजसो विभिन्न निकाय धाउँथे । धरानेले जिताउनुको विभिन्न कारणमध्ये उनको खानीपानीको एजेण्डा पनि प्रमुख थियो ।

मेयर साम्पाङले यसअघि पनि पकुवा खोला, सर्दु, निशाने खोला र भालु खोलाको पानी पनि श्रमदान अभियानबाटै जोड्न सफल भइसकेका छन् । निशानेमा हर्क साम्पाङ सपोर्ट कमिटी युके र गोर्खा पिस फाउण्डेशनले २ लाख ३७ हजार बराबरको पानीट्यांकी निर्माण गरिएको छ भने सेउती बगरमा पनि हर्क साम्पाङ सपोर्ट कमिटीले अर्को ट्यांकी बनाइदिएको छ । अहिले गोर्खा वेल्फेयर ट्रष्टले खर्दु खोला खानेपानी आयोजनाको स्तरोन्नति भइरहेको छ ।

तर, मेयर साम्पाङको धरानमा दिर्धकालीन खानेपानी समस्या समाधान गर्ने योजनाले भने अझै सार्थकता पाउन सकेको छैन । मेयरमा निर्वाचित भएको भोलिपल्टदेखि श्रम अभियानमा व्यस्त हर्क साम्पाङले धरानको पकुवा, निशाने, सर्दुखर्दु जस्ता बर्खे मुहानलाई खानेपानी लाइनमा जोडेपनि हिउँद लागेसँगै ती मुहान सुकेपछि धरानको समस्या जस्ताको तस्तै छ ।

ती खेलाका पानीले दीर्घकालीन समाधान हुने नदेखिएपछि मेयर साम्पाङ कोशीको पानी ल्याउन लागिपरेका छन् । धरानको प्यास मेट्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई भेट्न बालुवाटार र सिंहदरबारसम्मै धाएका छन् । कोकाहाको पानीले केही राहत दिएपनि कोशीको पानी नल्याएसम्म धरानमा खानेपानी समस्यको दिर्घकालीन समाधान हुने देखिँदैन । र, नगरको बजेटले मात्रै कोशीको पानी ल्याउन असम्भव छैन । त्यसैले मेयर साम्पाङजस्तो जनप्रतिधिनिलाई संघीय सरकारले साथ दिनैपर्छ । जनतालाई सरकार भएको महशुस गराउनैपर्छ ।

तस्वीरः क्लिक धरान

  • June 13, 2023 प्रकाशित
  • सम्बन्धित