काठमाडौं । पदयात्रा, नयाँ ठाउँ अनि प्रकृतिसँग नजिकिन चाहनेहरुका लागि उपयुक्त गन्तव्य हो, सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ मा रहेको पाँच पोखरी । काठमाडौंबाट एक हप्ताको प्याकेज लिएर त्यहाँ पुग्नेहरुले पदयात्राका क्रममा साँच्चिकै एउटा नयाँ अनुभव बटुल्ने मौका पाउनेछन् ।
स्वच्छ हावापानी, कहिले उकालो अनि थोरै तेस्रो बाटोबो यात्रा । यात्रामा देखिने हिमालका दृश्य । समयमा पुग्दा देखिने लालीगुराँसका दृश्य । मुनालको आवाज । अनि त्यहाँका समुदायको आफ्नै रहनसहन र संस्कृति । यो दृश्य काठमाडौं वा शहरमा बस्नेले युट्युब वा सामाजिक सञ्जालमा हेर्नु र त्यहाँ पुगेर स्वयं आफैँ त्यसको मज्जा लिनुमा आकाश पतालको भिन्नता छ ।
अहिले विभिन्न क्षेत्रका मानिसहरु पाँच पोखरीको पदयात्रामा जाने गरेका छन् । पाँच पोखरीको प्रमुख विशेषता भनेकै त्यहाँ भौगोलिक बनावट हो । पहाडको थुम्कामुनि ५ वटा पोखरीको दृश्य देख्दा सधैँभर त्यहिँ नै स्थायीरुपमा बसौँ बसौँ लाग्छ । स्थानीयका अनुसार पाँच वटा पोखरीकै नामबाट पाँच पोखरी रहन गएको हो रे !
नेपाल पर्यटन बोर्डले त नेपालका १०० नयाँ पर्यटकीय गन्तव्यमध्ये शीर्ष ९ मा पाँच पोखरीलाई सूचीकृत गरेको छ । सोलुखुम्बुको पाँचपोखरी अन्य पाँच पोखरीभन्दा सबैभन्दा ठूलो र अग्लो स्थानमा रहेको पोखरी पनि हो।
थुम्कामा रहेको पोखरीको वरपर बसेर प्रकृति नियाल्दा बेग्लै तरंग पैदा हुन्छ । त्यहाँ पुगेपछि लागेको थकान, अल्छी, टेन्सन सबै उडेर पन्छीजसरी कहाँ पुग्छ पुग्छ ! अझ बुझ्नेगरी भन्नुपर्दा थलिएको बिरामी एकाएक सन्चो भएजस्तो हुन्छ । त्यसैले जोकोहीले एकपटक ‘ट्रेक’ मा निस्कनै पर्ने गन्तव्य हो, पाँच पोखरी ।
पाँच पोखरी पगेर त्यहाँको प्रकृति नियाल्न जति मज्जा छ त्योभन्दा मज्जा छ पाँच पोखरी पुग्नुअघिका यात्राहरु । काठमाडौंदेखि जीपबाट बुङ पुग्दा नै एक खालको नयाँ भूगोलसँग नजिकिएको भान हुन्छ । यहाँ काठमाडौंदेखि पाँच पोखरीसम्मको यात्राका चरणगत जानकारी दिइएको छ ।
पाँचपोखरीबारे छोटकरीमा जानकारी
गन्तव्यको नामः पाँच पोखरी (४४६० मिटर)
नगरपालिकाः महाकुलुङ गाउँपालिका–१
जिल्लाः सोलुखुम्बु, नेपाल
राष्ट्रिय निकुञ्जः मकालु बरुण राष्ट्रिय निकुञ्ज
क्षेत्रः तल्लो सगरमाथा क्षेत्र
पदयात्रा क्षेत्रः महाकुलुङ, खिरौले गुम्बा, हुर्हुरे पास, पाँचपोखरी
उचाईः १७००० मिटर देखि ४५०० मिटर
ट्रेक अवधिः एक हप्ता
तापक्रमः लगभग ४० डिग्री
ट्रेक स्तरः औसत स्तर (सजिलो पनि होइन कठिन पनि)
यात्रा गर्ने उत्तम समय: सबै सिजन, सबै समय
आवश्यक फिटनेसः सामान्य शारीरिक फिटनेस
बजेटः २५ देखि ३० हजार रुपैयाँ (प्रति व्यक्ति)
काठमाडौंदेखि पाँचपोखरीको ‘ट्रेक’ यात्रा कार्यक्रम
दिन १ः काठमाडौंदेखि जीपमा यात्रा गरेपछि पाताले धाप–सल्लेरी–बुङ, महाकुलुङसम्म (१७०० मिटर) पुग्ने । आवासको व्यवस्थाः टी हाउस लज ट्रे । यात्रा अवधिः एक दिन पुरै ।
दिन २ः पहिलो यात्राको बासपछि पैदल यात्रा खिरौले गुम्बा (२६०० मिटर), तर्फ मोडिन्छ । जहाँ यात्रामा शेर्पा र राई गाउँको सांस्कृतिक दृश्यहरु हेर्न सकिन्छ । हिड्ने समयः ३ देखि ४ घण्टा । आवासः हिमाल लजमा ।
दिन ३ः खिरौले गुम्बादेखि ट्रेक टु जङ्गल क्याम्प/चोलेम (३,५६० मिटर), को यात्रा । यात्रा अवधि ६ घण्टा । पदयात्रामा लालीगुराँस जङ्गल ट्रेल र फोक्ते पोखरी (नेपाल नक्सा आकारको ताल) को अवलोकन गर्न सकिने । आवासः टि हाउस लज एण्ड टेण्टेड क्याम्प ।
दिन ४: जंगल क्याम्प/चोलेमदेखि पाँच पोखरी (४,४६० मिटर), को यात्रा । यात्रा अवधि ६ घण्टा । दिनको गतिविधिः स्टोन रोड र हुरहुरे पासको यात्रा । आवासः पाँच पोखरी होटेल एण्ड लज
दिन ५ः पाँच पोखरीदेखि खिरौले गुम्बा वा बुङ महाकुलुङ ओर्लने (४४६० मिटर) । यात्रा ७ घण्टा ।
दिन ६ः खिरौले गुम्बा वा बुङ महाकुलुङबाट जीपमार्फत् काठमाडौं फर्कने । यात्रा एक दिन । (सातौँ दिन वा एकदिन पदयात्राको रुचिअनुसार तालिका व्यवस्थापन गर्न सकिने)