- केजिन राई
फ्र्यांकफर्ट । किरात राई सोसाईटी जर्मनीको आयोजनामा कोशी प्रदेश खारेजीको माग गर्दै प्रसिद्ध शहर फ्र्यांकफर्टमा साकेला उभौली चाड येले सम्बत ५०८३ भव्यताका साथ मनाइएको छ ।
मौलिक संस्कार तथा संस्कृतिलाई जीवन्त राख्न र आफ्नापुस्तामाझ हस्तान्तरण गर्दै जाने उद्धेश्यका साथ किरात राई समुदायले धुमधामका साथ साकेला मनाएको हो ।
पूर्खा र प्रकृतिको पूजा गर्दै साकेला मनाउने प्रचलन त छँदैछ । उभौलीमा गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेकतिर उकालो चढ्ने र उधौलीमा जाडो मौसम सुरुभएसँगै जाडो छल्न बेंसी झर्ने प्रचलन छ । साथै, चराचुरूंगी, पशुपंक्षी र आफ्ना पूर्खा पितृहरुको सम्झनामा सम्मानस्वरुप विभिन्न पशुपंक्षीको कृयाकलाप र खेती किसान गरेको आदि अनगिन्ती जिवन्त अभिनयका साथ यो चाँड मनाउने गरिन्छ। बाली नाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला मनाउने प्रचलन छ ।
जहाँ रहेपनि आफ्नो संस्कार र सस्कृति र रीतिलाई जगेर्ना गर्ने उद्देश्यले वर्षभरीको पीडा थकान मेटाउनसमेत विगतदेखि आयोजना गर्दै आइएको उक्त कार्यक्रममा स्वीटजरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, चेक रिपल्बिकलगायत युरोपका विभिन्न छिमेकी देशहरुबाट गरी करिब ३ सय बढी रमेका थिए।
कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, अर्का पूर्वअध्यक्ष कुमार पन्त, किरात राई सोसाईटी बेल्जियमका पदाधिकारीहरू, एनआरएनए जर्मनीका सदस्यहरु, विभिन्न राजनीतिक दलका विदेशस्थित भातृसंगठनका प्रतिनिधिहरु, जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदाय साकेला नाचमा झुमेका थिए।
बहुभाषी, बहुसंस्कृति, बहुजातीय समुदाय भएको नेपालीत्व भन्दै सदियौँदेखि मिलेर बसेका नेपालीले विदेशमा पनि भाइचारालाई निरन्तरता दिएकोमा आयोजकलाई उपस्थितहरुले बधाइ दिएका थिए।
किरात राई सोसाईटी जर्मनीकी प्रिती चाम्लिङ, मनि कुमार राई, डिल्ली सेर राई, करूना राई, सपना राई, रिषीधन राई, ज्योती राई, निनाम्न राई आदिले उक्त कार्यक्रमले चेली माइतीबीच भेटघाट, दुःख सुख साटासाट र एकले अर्कालाई चिनजान गर्ने अवसर मिल्ने हुनाले आँैधी खुशी लागेको एकस्वरमा ऊल्लेख गरे ।
उत्साहपूर्बक सम्पन्न भएको कार्यक्रममा सबै सहभागीहरूको सहयोग रहेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा अझ ब्यबस्थित तरिकाले संयोजन गर्दै निरन्तरता दिने आयोजक टिमले बताएको छ ।