महावीरको राष्ट्रिय अविष्कार केन्द्र : ‘इन्नोभेसन’ कि ‘इन्भेसन’, खास नबुझेको कस्ले ?
  • मूलधार

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित रहेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुन सामाजिक सञ्जाल फेसबुक पेज र ट्विटरमा निकै सक्रिय छन् । उनी केन्द्रले बनाएका नयाँ नयाँ वस्तुहरु पेज वा ट्विटरमार्फत् सार्वजनिक गर्छन् । उनको काम र पुर्याएको योगदानप्रति धेरैको साथ छ । तैपनि केहीले भने उनले नयाँ गरेका कामको जानकारी र पोष्ट गरेका विषयमा आपत्ति जनाएको देखिन्छ ।

केहि दिनअघि एक जनाले उनको फेसबुक पेजमा पोष्ट गरेका सामग्रीप्रति आपत्ति जनाए, ‘राइट दाजुभाइ पनि सामान्य मिस्त्री थिए । तर, उनीहरुले तपाईजसरी आविष्कारका नाममा भिख मागेनन् । गर्नेले भिख माग्ने होइन ।’ प्रतिउत्तरमा महावीरले उनलाई दह्रो दनक दिए ।

महावीरले अन्तर्वार्ता र सामाजिक सञ्जालमार्फत नै भन्ने गरेका छन् आविष्कार केन्द्रको नाम ‘नवप्रबर्तन’ हुनुपर्ने हो तर सबैले सिधा अर्थमा बुझ्ने भाषा ‘आविष्कार’ भएकाले त्यहिँ राखेको हो । यद्यपि, नवप्रबर्तनभन्दा पनि आविष्कार भन्दा सबैले बुझ्ने भएकाले उत्तः नाम राखिएको तर, केन्द्रको नेपाली नाम चयनमा भने गल्ती भएको उनले बताउँदै आएका छन् । तर, केन्द्रको अंग्रेजी नाम ‘नेसनल इन्नोभेसन सेन्टर’ नै छ ।

उनले हालसालैको एउटा अन्तर्वार्तामा आज विश्वको शक्तिशालीका रुपमा उदाएको चिनले पनि सुरुमा अमेरिकालगायत देशबाट सिको गरेर सुरुमा नवप्रबर्तन हुँदै ठूलठूला वस्तुको आविष्कारमा हात हालेको सुनाउँछन् । उनका अनुसार र, अहिले आफूले गरेको प्रयास पनि चीनको जस्तै ‘इन्नोभेसन’ हो ‘इन्भेसन’ होइन । अहिले आफूहरुले चाहेर पनि ‘इन्भेसन’ अर्थात आविष्कारमा हात हाल्ने नसस्क्ने बताउँछन् । किनकि यसका लागि सानो तिनो बजेटले पुग्दैन । र, अहिले नेपालले सक्ने र गर्ने भनेकै ‘इन्नोभेसन’बाट ‘इन्भेसन’ हो ।

र, आविष्कार केन्द्र एउटा त्यस्तो केन्द्र हो जहाँ सिकारुले निशुल्क खाना, खाजा, बाससहित निशुल्क रुपमै सिक्न सक्छन् । जुन प्ल्याटफर्मका अगुवाकर्ता हुन, महावीर । त्यसो त अहिले केन्द्रले खुद्रादेखि केही ठूलठूला प्रोजेक्टहरु पनि गरिरहेको देखिन्छ । महावीरकै शब्दमा भन्ने हो भने केन्द्र अहिले घाटाको काम गरिरहेको छ । तैपनि रोकिने होइन केही सिक्दै, कसैको नयाँ चोर्दै नवप्रबर्तनबाट आविष्कारमै ढल्किने दृढ लक्ष्य छ केन्द्रको ।

यहिँबेला आफ्नो स्वच्छाले अर्थात कुनै करकापबिना केन्द्रलाई सहयोग गरेर अझ अघि बढाउन सहयोग गर्ने दाताहरुले दान गरिरहेका छन् । र, केन्द्रले त्यो दान आफ्नो व्यवस्थापन खर्चने गरेको महावीरले पटकपटक भन्दै आएका छन् । यद्यपि, कसैले भने दान लिएर नयाँ आविष्कार हुँदैन भन्छन् र फेरि महावीर खरो रुपमा उत्रिन्छन्, ‘आविष्कार होइन नवप्रबर्तनमा केन्द्रित छौँ । कति बुझाउनु ।’

उनका अनुसार अहिले नयाँ सिकारु अर्थात् केही नयाँ गर्न खोज्नेलाई केन्द्रमा स्वागत छ र उनीहरुलाई उद्यमी बनाउन नै केन्द्र स्थापना भएको हो । केन्द्रमा आएर सिक्न चाहने, सिकेर गएकाहरुले ‘एग्रिकल्चर’, ‘बायोमेडिकल’, ‘एरोनटिक’, ‘रकेट’ ‘रोबोटिक्स’ ‘इलेक्ट्रिकल’ ‘इलेक्ट्रोनिकल’, सफ्टवेयर’ र ‘फुड टेक्नोलोजी’मा अनुसन्धान गर्न सक्ने उनले बताउदै आएका छन् । त्यसो त संसारमा आज जतिसुकै ठूला आविष्कार (इन्भेन्सन) भएका छन् ती सबै नवप्रबर्तन (इन्नोभेसन)बाटै सुरु भएका छन् । र, महावीरको भनाइ र गराइ पनि यहिँ हो ।

उनले अहिले नेपाली जनतालाई केन्द्रको बारे बुझाइरहेका छन्, धेरैले दान पनि गर्दै आइरहेका छन् त कतिले ‘कवाडी’ केन्द्रलाई दान गर्नुको ओचित्य खोजिरहेका छन् । तर, उनी आफूलाई ‘मुर्ख’ भन्छन् किनकि संसार हाँक्नेहरु मुर्ख नै हुन्छन् । वैज्ञानिक अल्बर्ट आइन्सटाइन, हकिङ, आफ्नै नाम बिर्सने वैज्ञानिक थोमस अल्बा एडिसनलगायत थुप्रै उदाहरण छन् । उनीहरुले अरुले के भने भन्दा पनि म के गर्छु भनेरै रातदिन प्रयोगशालामा बिताए ।

एसियाका नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे अवार्डबाट पुरस्कृत महावीरलाई नचिन्ने थोरै मान्छे होलान्, जस्ले त्योबेला सुदूर गाउँमा गएर ‘वाइरलेस’ माध्यमाबाट इन्टरनेटको पहुँच जनतासमक्ष पुर्याए । उनले चाहेका भए अमेरिकामै ऐस आरामको जीवन बिताउँथे ।

तर, जब नेपाल फर्किए अनि सोचे विदेश होइन मेरो देश बनाउँछु । आफूले जानेका कुराहरु नयाँलाई सिकाउँछु, सिक्छु पनि । तर, नाजुक आर्थिक अवस्था, गलत संस्कारसहितको राजनीतिको विकास, उत्पान शुन्य उपभोक्ता बढी, भ्रष्टाचारले नेपाल आज दिनानुदिन खस्किँदो छ । र, यहिँ बेला यहिँ कचिङ्गलमा नयाँ सिकारुलाई एउटा असल उद्यमी बनाउन तत्पर महावीर पनि फसेका छन् ।

केही समयअघि बजेटको १ प्रतिशत नवप्रवर्तन, आविष्कार क्षेत्रमा लगानी गर्न कोष खडा गर्नुपर्नेलगायत मागहरु राखेर माइतीघर मण्डलमा धर्नामा उत्रिएका महावीर र सरकारबीच सात बुँदे सहमति भएको छ । र, सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि महावीरको माग समेटेको छ ।

महावीरलाई पनि कयौँले धरानका मेयर हर्क साम्पाङजसरी सामाजिक सञ्जालमा आफूलाई नानाथरी भन्दा उस्लाई पनि आमाचकारी गाली नगर्नुस् पनि भनेर सल्लाह दिन्छन् । तर, उनी आफूले पटकपटक स्पष्टीकरण दिँदा पनि नबुझेकाले खरो रुपमा उत्रिन बाध्य भएको बताउँछन् ।

उनी भन्छन्, ‘म पनि देवता होइन । एउटा सामान्य मान्छे हुँ । तपाईहरुजस्तै । पटकपटक भन्दा पनि नबुझेपछि रिस उठ्छ । अनि चुप लागेर बस्ने सक्ने अवस्था हुँदैन, कति भन्नु । भगवानको त रिस उठ्थ्यो भने म त सामान्य मान्छे ।’

  • May 26, 2023 प्रकाशित
  • सम्बन्धित