काठमाडौं । पहिचान मेटाएर प्रदेश १ को नाम ‘कोशी’ प्रदेश नामकरण गरिएको भन्दै पहिचानवादीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुलाई विभिन्न आदिवासी संघ, संस्थासँगै अधिकारकर्मीहरूले पनि संयुक्त रुपमा वक्तव्य निकालेर साथ दिएका छन् ।
कोशी प्रदेश प्रदेशसभाबाट बहुमतले पारित गरेपछि निरन्तर आन्दोलन चर्किँदै आएको छ । र, आइतबार पनि कोशी प्रदेश खारेजीको माग गर्दै विराटनगर तनावग्रस्त बनेको थियो । प्रदर्शनका क्रममा ४ जनालाई प्रहरीले पक्राउ गरेपछि साँझ छाडेको छ ।
कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा विभिन्न पहिचानवादी नेताहरुको उपस्थिति थियो । उनीहरुले ‘श्री ५’ को तत्कालीन सरकार फालिएजस्तै कोशी प्रदेश पनि फाल्ने चेतावनी दिएका छन् ।
प्रदर्शनपश्चात् विराटनगरस्थित महेन्द्र चोकमा कोणसभामा आयोजना गरिएको थियो । कोणसभामा गोपाल किराँतीदेखि कुमार लिङ्देनले कडा रुपमा आफ्ना धारण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किराँतीले ‘श्री ५’ लेखेको बोर्डहरु फालिए जस्तै कोशी लेखिएको बोर्ड फाल्ने चेतावनी दिए । साथै, उनले आफूहरु वर्तमान पुस्ताको क्रान्तिकारी कार्यकर्ता रहेको पनि बताए ।
उनले भने, ‘हामीलाई कुल्चँदै छन् । अब कोशी प्रदेश सरकार लेख्ने तयारी पक्कै पनि होला । हामीलाई के थाहा छ भने हामी त्यो पुस्ताका क्रान्तिकारी कार्यकर्ता हौं । नेपालको हरेक टोलटोलमा श्री ५ को सरकारको साइन बोर्ड हुन्थ्यो । आज खोइ ? सबै उप्काएर मिल्काइयो ।’
पूर्वमन्त्रीसमेत रहेका किरातीले आन्दोलनले मात्रै राज्यसत्ता प्राप्त नहुने बताउँदै त्यसका लागि नयाँ राजनीतिक आन्दोलनको तयारी पनि गर्नुपर्ने बताए । उनले भने, ‘सामाजिक आन्दोलनले मात्रै राज्यसत्ता प्राप्त हुँदैन । त्यसकारण नयाँ राजनीतिक आन्दोलनको तयारी गर्नुपर्छ ।’
कोणसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले अहिले देखिएको आन्दोलन चलचित्रको ‘कास्टिङ’ जस्तै मात्रै देखिएको बताउँदै दोस्रो चरणको आन्दोलन कस्तो हुन्छ त्यो देखाउने पनि चेतावनी दिए ।
उनले दोस्रो चरणको आन्दोलनमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभालाई एक महिनासम्म घेराउ गर्ने चेतावनी दिए । साथै, उनले कोशी नाम गुण्डागर्दी शैलीमा राखिएकोमा रोस प्रकट गरे ।
यसैगरी पहिचानवादी नेता आङ्काजी शेर्पाले मागेको पहिचान नपाए नयाँ विद्रोह गर्ने चेतावनी दिए । उनले भने, ‘हामीले मागेको पहिचान हो । र, दिनलाई गाह्रो हो भने प्रदेश होइन, हामी देश माग्छौं । शान्तिपूर्ण आन्दोलन पर्याप्त नभए हामी विद्रोह गर्छाँै ।’
प्रदर्शनपछि परिणत भएको कोणसभामा किराती, लिङदेन, शेर्पासँगै पहिचानवादी नेताहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायतले खरो रुपमा आफ्ना धारणा राखेका थिए ।