मोरङ । प्रदेश १ को नामकरणलाई लिएर विराटनगरमा प्रदर्शनमा उत्रिएकामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अहिले विराटनगर तनावग्रस्त बनेको छ । भूगोलका आधारमा प्रदेशको नाम राखेर पहिचान नामेट गरिएको भन्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारी पक्राउसँगै भीड नियन्त्रण गर्न असमर्थ भएको प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।
प्रदेशसभाले गत फागुन १७ गते विरोधका बीच बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । बाहिर निषेधाज्ञा नै जारी गरेर प्रदेशको नाम कोशी पारित भएपछि त्यसयता पहिचानवादीहरुले कोशी प्रदेश खारेजको माग गर्दै निरन्तर रुपमा आन्दोलन जारी राखेका छन् ।