मोरङ । प्रदेश १ को नामकरणलाई लिएर विराटनगर तनावग्रस्त बनेको छ । भूगोलका आधारमा प्रदेशको नाम राखेर पहिचान नामेट गरिएको भन्दै प्रदर्शनकारीहरु आइतबार प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरुले प्रदेशको नाम सच्याइनुपर्ने माग राख्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरेको छ ।
प्रदर्शनकारी पक्राउसँगै भीड नियन्त्रण गर्न असमर्थ भएको प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।
प्रदेशसभाले गत फागुन १७ गते विरोधका बीच बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । बाहिर निषेधाज्ञा नै जारी गरेर प्रदेशको नाम कोशी पारित भएपछि त्यसयता पहिचानवादीहरुले निरन्तर रुपमा आन्दोलन जारी राखेका छन् ।