काठमाडौं । नेपालीमा एउटा उखान छ– ‘आफूले खनेको खाल्डोमा आफै परिन्छ ।’
गत बिहीबार आईसीसी विश्वकप लिग–२ को अन्तिम तथा निर्णायक खेल कीर्तिपुरस्थित ट्यु मैदानमा थियो । खेल नेपाल र यूएईबीचको थियो । त्यस खेलमा यूएई आफूले खेलेको खाल्डोमा आफै पर्यो ।
टस जितेर ब्याटिङ गरेको यूएई नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले जवाफी ब्याटिङ गरिरहेको थियो ।
३११ रनको लक्ष्य नेपाल सामु तेर्स्याउँदा लागेको थियो खेल अब नेपालको हातबाट छुट्यो । त्यति धेरै रन नेपालले पछ्याउन सकेको इतिहास पनि त थिएन । लाग्थ्यो यूएईले नेपालसँग लगातारको हारको रिस अन्तिम खेलमा पोख्दै थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेल सुरु हुन अगाडी नेपाली खेलाडीलाई हैसला दिन टियू मैदान पुगेका थिए । धेरैले प्रचण्डलाई ‘पनौती’ भन्दै केही सामाजिक सञ्जालतिर आक्रोश व्यक्त गर्न थालिसेकेका थिए । कतिले त प्रचण्डले गएर नेपाली जित्ने खेल पनि हार्ने भयोसम्म भन्न भ्याए ।
यूएईका आसिफ खान एक्लैले ११ छक्का प्रहार गरे र कम बलमा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बन्न सफल भए । ४९औँ ओभरमा त खानले सन्दीप लामिछानेको बलमा लगातार चार छक्का हानिदिए । सहन नसकेका दर्शकहरू पनि के कम । चौथो छक्का खाएपछि दर्शकले त्यो बल फिर्ता नै गरेनन् । त्यसपछि अम्पायरले अर्को बल ल्याउनु प¥यो ।
मैदानमाथिको बादल मडारिँदै थियो । धेरैलाई पानी पर्छ कि भन्ने डर थियो । खेलाडीदेखि दर्शकसम्मले पटक पटक आकाशतर्फ हेरिरहेका थिए । मौसमलाई आंकलन गरेर यूएईका खेलाडी मैदानमा रणनीति बुन्दै गए । तर यूएईको रणनीति आफ्नै लागि अभिशाप बन्यो । नेपाली क्रिकेटमा लामो समयसम्म स्मरणयीय रहनेछ ।
पानी पर्ने सङ्केत देखेपछि रणनीतिक खेल सुरु भयो । यूएईले ढिलो बलिङ गर्ने रणनीति अपनायो । किनकि पानी परिहाल्यो र खेल रोकियो भने डक वर्थ लुइस प्रणाली (डीएलएस) मार्फत हुने जित हारको फैसलामा यूएई अगाडि थियो ।
अम्पायरले त्यसको सचेत गराए पनि युएईका खेलाडीहरूले जानाजान ढिलो बलिङ गरिनै रहे । युएईले साढे तीन घण्टा भित्र बलिङ गरिसक्नुपर्ने थियो । तर चार घण्टा बितिसक्दा पनि छ ओभरको खेल बाँकी थियो ।
खेल डीएलमार्फत आफ्नो पक्षमा आओस् भनेर उनीहरूले निकै प्रयास गरे । खेलाडीलाई चोट लागेको भन्दै दुई पटक त मैदानमा नै उपचार गर्नुपर्ने अवस्था उनीहरूले सृजना गरे । युएईका खेलाडीहरूले दर्शकहरूले बोतल फ्याँकेको भन्दै अम्पायरसँग गुनासो गर्दै पनि समय घर्काउन खोजे ।
हरेक घट्दो ओभरले डिएलएसको गणित फेरिरहेको थियो । त्यसको जानकारी र नेपाली ब्याटिङको रणनीति मैदानमा रहेका ब्याटरहरूलाई बुझाउने काम मैदान बाहिर रहने १२औँ खेलाडीको थियो ।
त्यस बेला ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसीको व्यस्तता हेर्न लायकको थियो । उनीहरुले दर्शकलाई नमस्कार गर्दै अभद्र व्यवहार नगरिदिन आग्रह गरिरहे । ‘हामी जित्छौँ’ भन्दै दर्शकलाई थम्थम्याइ रहे ।
ओभर सकिनासाथ उनीहरू १०० मिटर दौडका स्प्रिन्टर जसरी मैदानमा पुग्थे । प्रशिक्षकको सन्देश पुर्याउँथे र फर्किन्थे । एक पटक त जीसी ओभर नसकिँदै मैदानमा छिरे । अम्पायरले रोकेपछि उनी बीचबाटै फर्किनुप¥यो ।
यो क्रम यति धेरै पटक दोहोरियो कि त्यस्तो हुन नदिन जगेडा अम्पायर विनय झाले हस्तक्षेप नै गर्नुप¥यो ।
नेपालले लगातार तीव्र गतिका बलरहरू उतारेर यूएईले अर्को रणनीति अपनायो । त्यसबाट दुई फाइदा उनीहरूले उठाए । एउटा त यसले खेलको समय लम्ब्याउने काम ग¥यो ।
अर्कोतर्फ मौसमका कारण मैदानको प्रकाश मधुरो भइसकेको थियो । त्यस्तोमा नेपाली खेलाडीहरूलाई तेज बलरको सामना गर्न गाह्रो थियो ।
यो रणनीति सफल देखियो । क्रिजमा रहेका आरिफ शेख र गुलशन झा रन जोड्न सङ्घर्ष गरिरहेका थिए। यूएई नेपालको रन रेट रोक्न सफल देखियो ।
दबावको यो बेला ४० ओभरमा आरिफको विकेट लिन पनि पाहुना टोली सफल भयो । डीएलएसमा नेपालको लक्ष्य फेरी बढ्यो ।
अन्तिमतिर खेल निकै रोमाञ्चक बन्दै थियो । नेपालको ६० बल हुँदा जितको लागि ८४ रन जोड्नुपर्ने स्थिति थियो । ५० बल बाँकी हुँदा नेपालले ६४ रन जोड्नु पर्ने थियो । ४० बलमा झर्दा नेपाललाई ४८ रनको आवश्यकता थियो ।
खेलको खास पटाक्षेप चाहिँ ४२औँ ओभरमा भएको हो । गुलशन झाले उक्त ओभरमा २० रन जोडेर यूएईको सपना चकनाचुर पारिदिए ।
बलिङ गर्न आएका मोहम्मद वासिमलाई झाले ओभरको तेस्रो बलमा छक्का हाने । त्यसपछिको लगातार तीन बलमा तीन चौका ठोकिदिए । यसपछि एकाएक खेल नेपालको पक्षमा ढल्कियो । डीएलएसमा नेपाल अगाडि आयो ।
गुलशनले ४२ ओभरको अन्तिम बलमा प्रहार गरेको सट लङ अफमा बसिरहेका मुस्तफाले सहजै जोगाउन सक्थे । तर लगातार तीन बाउन्ड्री कटिसकेको अवस्थामा दबावमा परेका मुस्तफाले मिस फिल्ड गर्न पुगे र बल चौकामा परिणत हुन पुग्यो ।
६ ओभर अर्थात् ३६ बल बाँकी हुँदा यूएईलाई जित्न नेपाललाई ४२ रनको खाचो थियो । नेपाले ४४ ओभरमा दुई सय ६९ रन बनाएको थियो । तर, त्यसैबेला रेफ्रीले नेपालले जितेको घोषणा गरिदिए । ‘लाटो लड्छ एक पल्ढ्याङ, बाठो लड्छ तीन पल्ढ्याङ’ भन्छन् । यूएई बाठो हुँदा तीन पल्ढ्याङ लड्यो । अर्थात् आफूले खनेको खाल्डोमा आफै परे ।
नेपालले यूएईलाई नौ रनले जित्यो । यूएईले टस जितेर ब्याटिङ गरेको थियो । पहिलो ब्याटिङ गर्नेले हो रनले जित्ने । पछि ब्याटिङ गर्नेले त विकेटले जित्नुपर्ने हो, फेरि पछि ब्याटिङ गरेको नेपाले रनले नै कसरी जित्यो ? त्यो पनि पूरै खेल नखेली । सबै अलमल्ल ! धेरैको मनमा प्रश्न खेल्यो– कसरी ? कसरी ? कसरी‘.? तर बधाई भने दिइहाले ! एकछिन पछि थाहा भयो– डीएलएस मेथर्डको आधारमा नेपालले यूएईलाई हराएको ।
यूएईको नेपाल विरुद्धको उच्च शक्ति प्रदर्शन, थामिनसक्नुको दर्शक, नेपालका लागि हालसम्मकै विशाल लक्ष्य, बादल र वर्षाको लुकामारी, पानी बोकेर मैदान प्रवेश गर्ने नेपाली सन्देशबाहक खेलाडीहरूको हतारो, दर्शकलाई संयमता अपनाउन राष्ट्रिय खेलाडीहरूले गरेको अपिल, यूएईको गुनासै गुनासो अनि मधुरो प्रकाशका कारण अम्पायरहरूले गरेको निर्णय ।
यी सबै परिघटनाका माझ जित निकाल्दै नेपाली टोली विश्वकपको छनोट खेल्न सफल भयो । र, दर्शकहरूले सामूहिक स्वरमा गाए ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो ।’ उक्त गीतमा नेपाली खेलाडीहरू मैदानमै धेरै बेर नाचिरहे, रमाइरहे ।