मानेभन्ज्याङ गाउँपालिकाले गरिब नभेटेपछि…(सूचीसहित)
  • मूलधार

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाले गाउँपालिकाका ९ वडाभित्र रहेका गरिब घरपरिवारको सूची सार्वजनिक गरेको छ । २१ हजार ८२ जना कूल जनसंख्या रहेको यस गाउँपालिकाका ९ वडामा गरिबको कूल संख्या ६ सय ६ जना रहेको सार्वजनिक भएको ‘गरिब घरपरिवार पहिचान सर्वेक्षण–२०७८’ मा उल्लेख छ ।

सर्वेक्षण सामान्य, मध्यम र अति गरिब तीन भागमा विभाजित गरेर गरिएको छ । तर, सार्वजनिक भएको उक्त गरिब सर्वेक्षण सूचीप्रति त्यहाँका स्थानीयले विरोध जनाएका छन् । के आधारमा गरिब मूल्यांकन गरिएको, सरकारी जागिरे र विदेश बस्ने सबै गरिब रहेछन्, गरिब होइन धनीको मात्र लिस्ट छ भन्दै उनीहरुले विरोध जनाएका छन् ।

गाउँपालिकाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत ९ वडामा कूल ६ सय ६ गरिब घर परिवारको सूची सार्वजनिक गरेको थियो । तर, उक्त सूचीमा वास्तविक गरिब नभएर सम्बन्धित व्यक्तिलाई पोस्न र राजनीतिक पार्टी पोसिनका लागि सर्वेक्षण गरिएको भन्दै विरोध जनाइएको छ ।

गरिबको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

गाउँपालिकाले फेसबुक पेजमार्फत सार्वजनिक गरेको उक्त सर्वेक्षण सूचीप्रति धेरैले टिप्पणी गरेका छन् । टिप्पणी गर्नेहरुले गाउँपालिकाले पेन्सन पाउनेदेखि सहरमा घर हुनेसम्मलाई गरिबमा समेटिएको भनेका छन् ।

बाबु किरातीले लेखेका छन्, ‘पेन्सन पाउने पनि गरिबीमा ४ नं.वडामा परेछ । सच्याउन हुन अनुरोध छ।’

यस्तै, सपना गौतमले लेखेकी छन्, ‘हैन सबैभन्दा धनी पनि गरिबको लिस्टमा छन् त ।’

बुद्धराज गौतमले लेखेका छन्, ‘जस्को घरमा सरकारी जागिर खाने छन त्यो घरको मान्छे गरिब हुदो रहिछ जस्को घरमा ६ महिना राम्रो सङ्ग खान पुग्दैन त्यो घर धनी भयो हैन कस्ता लाई धनी र कस्ता लाई गरिब भनेर छुटाउन नसक्ने को कमजोरी होकि गाउका ठुला बडाले नाम लिस्ट दिएको भर मा छुटाएको होकि के हो कुरा बुझ्न सकिएन । मानेभञ्ज्याङ गाउँपालिका ।’

निर्मला भुजेल लेख्छिन्, ‘जो धनी छ तेस्को मात्र नाम छ त ।’ गाउँपालिकाले सार्वजनिक गरेको गरिब सर्वेक्षण सूचीप्रति असन्तुष्ट पोख्नेहरुले तुरुन्त सर्वेक्षण सूचीप सच्याउन पनि माग गरेका छन् ।

गरिब पहिचान तथा परिचयपत्र वितरणका लागि दरखास्त आह्वान

गाउँपालिकाले गरिब घरपरिवारको सर्वेक्षण सूची सार्वजनिक गरेसँगै गरिब पहिचान तथा परिचयपत्र वितरणका लागि चैत ३ गते करारमा २ जनाका लागि दरखास्त नै आह्वान गरेको छ । आवेदन दिने व्यक्ति पुरुषतर्फ १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलातर्फ ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने भनिएको छ ।

आवेदन यहिँ चैत ९ गतेसम्मका लागि तोकिएको छ । आवेदन शुल्क १ हजार तोकिएको छ ।

 

 

 

 

 

  • March 17, 2023 प्रकाशित
  • सम्बन्धित