शितल निवासबाट निस्कँदा सडकमा जनतालाई दुःख दिन्न भन्ने रामचन्द्र पौडेल…
  • मूलधार

काठमाडौं । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले शुक्रबार सडक खाली गराएर पशुपतिनाथको दर्शन गर्न पुगे । राष्ट्रपति पौडेल बिहान ९ बजेतिर पुजा गर्न पशुपति पुगेका थिए।

पशुपतिमा उनले करिब डेढ घन्टा पूजा गरे । तर, पशुपति जाँदा र आउँदा सडक खाली गराइएको थियो। पशुपतिमा पूजासँगै बीपीको सालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएपछि ट्राफिक जाममा फसेका सर्वसाधारणले हर्न बजाएर असन्तुष्टि पोखेका थिए ।

पदमा नपुगुन्जेल मीठो बोली, पुगेपछि जनतालाई सास्ती दिने नेपाली राजनीतिमा प्रचलनै छ । त्यो पौडेलले पनि देखाए । सुरुमा जनतालाई दुःख नदिने भन्ने पछि पदमा पुगेपछि बिर्सने ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुअघि पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्ने दिनको अन्त्य हुने बताएका थिए ।

राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन पौडेलले पत्रकारहरूसँग भनेका थिए– ‘शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’

तर, उनले बोलेको बोली राष्ट्रपति जितेसँगै स्पष्ट देखियो– पशुपतिबाट सुन्दरीजल जाँदा ।

  • March 10, 2023 प्रकाशित
  • सम्बन्धित