निजी क्षेत्रका समस्या सरकारले हल गर्ने
  • मूलधार

काठमाडौं। निजी क्षेत्रका समस्या सरकारले हल गर्ने भएको छ । शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री श्रेष्ठले निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि बताए । ‘अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ,’ उनले भने ।

आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको पनि उनले बताए । निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि उनको भनाइ छ । ‘आफ्नो दायित्व पूरा गर्नका लागि सरकार र निजी क्षेत्रका आ–आफ्ना भूमिका छन् । निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपले लिएको छ । समाधानका लागि छलफल पनि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने।

सोही कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष गणेशकुमार न्यौपानेले कोभिड–१९ महामारीपछि निजी क्षेत्रले निरन्तर सङ्कट भोगिरहेको बताए । सरकारले कोभिड महामारीपछिको पुनरुत्थानमा ध्यान पुर्याउन नसकेको उनको भनाइ छ । “कोभिडपछिको आर्थिक पुनरुत्थानमा सरकार केन्द्रित हुन सकेन । उत्पादन उद्योग स्थापनामा ध्यान पुग्न नसक्दा अर्थतन्त्रमा समस्या देखियो”, उनले भने । सरकारले कर
प्रशासनलाई चुस्त बनाई न्यून बिजकीकरणको समस्या हल गर्नतर्फ ध्यान दिनुपर्ने पनि अध्यक्ष न्यौपानेको भनाइ छ ।

  • March 3, 2023 प्रकाशित
  • सम्बन्धित