प्रदेश १ को नामकरणअघि विराटनगरमा दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी
  • मूलधार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्वारा जारी विज्ञप्तिमा ३ बजेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि तोकिएका स्थानमा कुनै पनि भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न निषेधाज्ञा जारी गरिएको हो ।

जारी विज्ञप्तिमा प्रदेशको नामांकनको विषयमा राजनैतिक दल, समूह, जातिय संघ संस्थाबाट सम्भावित विरोध धर्ना, जुलुस र झडप हुन सक्ने भएकाले उक्त अवस्थालाई सामान्य अवस्थामा राख्न निषेध निषेधाज्ञा जारी गरिएको भनिएको छ ।

निषेधाज्ञा देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर हुने भनिएको छ ।

बुधबार प्रदेश सभामा प्रदेश १ को नामका लागि दुई प्रस्ताव दर्ता भएका छन्। एमालेले कोशी नाम राख्न प्रस्ताव दर्ता गरेको थियो भने समर्थकमा नेपाली कांग्रेस रहेको थियो । एमाले–कांग्रेस भूगोलको आधारमा प्रदेशको नाम ‘कोशी’ राख्न सहमत भएका थिए । तर, समर्थन गरेको केही घण्टा नबित्दै कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ।

यता, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले भने प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव दर्ता गरेका छन्।

 

 

 

  • March 1, 2023 प्रकाशित
  • सम्बन्धित