हलेसी तुवाचुङमा वडा कार्यालय र युवा समूहद्वारा संयुक्त रुपमा भलिबल प्रतियोगिता आयोजना
  • एन.सी. राई

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ र पञ्चावती प्रगतिशील युवा समूहको सयुंक्त आयोजनामा वडा स्तरीय खुला पुरुष भलिबल खेल प्रतियोगिता आयोजना गरिएको छ ।

स्थानीय खेलाडीहरुको प्रोत्साहन र हौसला बढाइदिने उदेश्यले वडा कार्यालय र यूवा समूहको सयुंक्त आयोजनामा फागुन १९ गतेबाट वडा स्तरीय भलिबल  प्रतियोगिता सुरु हुन लागेको हो ।

खेलको मुख्य उद्धेश्य भनेकै खेलाडीहरुको प्रोत्साहनसँगै खेलाडी उत्पादन र खेलकुदको माध्यमबाट वडालाई चिनाउने रहेको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कमल गिरीले बताएका छन् । उनले स्थानीय खेलाडीहरुको प्रोत्साहनसँगै नयाँ खेलाडी उत्पादन गर्नका लागि पनि संयुक्त रुपमा भलिबल खेल आयोजना गरिएको बताए ।

वडाध्यक्ष गिरीले भने, ‘कुनै पनि क्षेत्रको चिनारी दिने अन्य माध्यमजस्तै खेलकुद पनि एउटा सशक्त माध्यम हो । जस्ले खेलको माध्यमबाट वडालाई नयाँ रुपले चिनाउँछ । खेल पनि अन्य विद्याजस्तै सशक्त रहेकाले संयुक्त रुपमा वडास्तरीय भलिबल खेल आयोजना गरिएको हो । यो आयोजनाले एउटा थप पहिचान दिलाउने छ ।’

संस्थाका उपाध्यक्ष यज्ञराज राईले संस्थाको उद्धेश्यभित्र खेलकुदलाई पनि प्राथमिकता राखिएकाले खेलाडीको स्तरोन्नति र हौसलाको लागि वडासँग समन्वय गरेर वडा स्तरीय भलिबल खेल सयुंक्त रुपमा आयोजना गरिएको बताए । उनले यस वडा स्तरीय भलिबल आयोजनाले स्थानीय खेलाडीहरुलाई थप हौसला प्रदानसँगै र खेलप्रति युवाको चासो बढेर जानेमा विश्वस्त रहेको बताए ।

उपाध्यक्ष राईका अनुसार सयुंक्त रुपमा आयोजना गरिएको भलिबल खेलमा वडाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । साथै, खेलमा विजेता र उपविजेतासँगै सेमिफाइनल प्रवेश गर्ने खेल समूहलाई पनि विशेष पुरस्कार राशीको व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

उनका अनुसार भलिब खेलमा प्रथम हुने समूहले नगद ४० हजार रुपैयाँसहित एउटा खसी पाउने छन् । दोस्रो हुने समूहले नगद ३० हजार पुरस्कार पाउनेछन् भने सेमिफाइनल प्रवेश गर्ने समूहले १०/१० हजारको दरले पुरस्कार प्राप्त गर्ने उनले बताए । वि.सं. २०५२ सालमा स्थापना भएको पञ्चावती प्रगतिशील यूवा समूहले आफ्नो गाउँ समाजको विकास र समाजिक सेवामा सधैँ लागि पर्दै आएको छ ।

यस्ता छन् खेलका नियमः

१. संयुक्त रुपमा आयोजना हुन लागेको भलिबल खेल नेपाल भलिबल संघको नियमानुसार खेलाइनेछ ।

२. खेलाडीहरु एकै वडाको हुनुपर्नेछ ।

३.खेलाडीहरुले अनिवार्य रुपमा खेल पोशाक लगाउनुपर्नेछ ।

४. प्रत्येक खेलाडीले एक प्रति पासपोर्ट फोटो सक्कल नागरिकता वा सक्कल जन्मदर्ताको फोटोकपी बुझाउनुपर्नेछ ।

५. एक समूहमा अतिरिक्त खेलाडी, कोच र व्यवस्थापकसहित जम्मा ११ जना हुनुपर्नेछ । खेलमा चोटपटक लागेमा खेलाडी स्वंम जिम्मेवार हुनुपर्नेछ ।

६. मादक पदार्थ सेवन गरेर खेलमा सहभागी हुन पाइने छैन ।

७. खेल खेल्दा कुनै किसिमको विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ ।

८. टिम दर्ता फागुन देखि १९ गते बिहान १० बजेसम्म गर्न सकिनेछ ।

९. टिम दर्ता शुल्क ५ हजार लाग्नेछ ।

 

  • February 28, 2023 प्रकाशित
  • सम्बन्धित