काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।
मंगलबार आयोगले फागुन २५ गते राष्ट्रपति र चैत ३ गते हुन लागेको उपराष्ट्रपति निर्वाचनका लागि भोलि (फागुन १७) गतेदेखि पूर्ण रुपमा निर्वाचन आचारसंहिता लागू गर्न लागेको जनाएको हो ।
आयोगका अनुसार संघ र प्रदेश गरी निर्वाचनमा कूल जम्मा ८८२ मतदाताको सहभागिता रहेको छ । आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी र सरकारी तथा अर्धसरकारीलाई समेत लागू हुने आयोगको आचारसंहितामा उल्लेख छ ।
यसैगरी राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पदमा रहेका व्यक्तिहरु,सञ्चार प्रतिष्ठानका कर्मचारी र पत्रकार तथा मतदाताले पनि आचारसंहिता पालना गर्नुपर्ने भनिएको छ । साथै, आचार संहिताको पालना गरी निर्वाचन लाई मर्यादित र स्वच्छ बनाउन पनि निर्वाचन आयोगले सबैसमक्ष आग्रह गरेको छ ।