जगदम्बा प्राथमिक विद्यालयद्वारा व्यवसायी तथा समाजसेवी राईलाई सम्मान
  • एन.सी. राई

खोटाङ । व्यवसायी तथा समाजसेवी तेजबहादुर राईलाई सम्मान गरिएको छ । जगदम्बा प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएका राईलाई आइतबार हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख (उपमेयर) रमेश राउतले सम्मान पत्रसहित विद्यायलयको तर्फबाट सम्मान गरेका हुन् ।

सम्मानपश्चात् मन्तव्यका क्रममा तेज तिलासरी फाउण्डेसनका संचालक तथा अध्यक्षसमेत रहेका राईले भविष्यमा पनि विद्यालयलाई आफूले सहयोग गर्ने बताएका छन् । व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका राई नेपाल इन्डिजिनियस च्याम्बर अफ कमर्सका संस्थापक अध्यक्षसमेत हुन् ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर राउतले शिक्षाकै कारण परिर्वतनहरु सम्भव रहेको बताउँदै नगरपालिकाले हालको आर्थिक वर्ष र आउने आर्थिक वर्षका बजेटमा सबैभन्दा धेरै शिक्षामा जोड दिएको बताए ।

उनले भने, ‘नगरपालिका भरीमा ६ हजारभन्दा माथि विद्यार्थीहरुको रहेका छन् र उनीहरुलाई गुणस्तरीय शिक्षाका लागि शिक्षामा नै पहिलो जोड दिइएको छ । विद्यार्थी भाइबहिनीहरु बन्नु भनेकै नगरपालिका बन्नु हो ।’

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जगदम्बा आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष दुर्गा राईको टिमले राम्रो काम गरेको बताए । साथै, वडाध्यक्ष गिरीले विद्यालय सुधारमा सहयोगीदातासँगै विव्यसका अध्यक्ष राईको टिमलाई मनैदेखि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा विव्यसका अध्यक्ष राईले तेज–तिलासरी फाउण्डेसनका सञ्चालक तथा अध्यक्ष राईको सहयोगी मनप्रति हृदय आभार प्रकट गरे । सहयोगी मनको यो कदमले विद्यालय र विद्यार्थीलाई एक कदम अघि बढाए पनि उनले बताए । साथै, उनले आफ्नो कार्यकाल अवधिभर सदैव विद्यालय सुधारमा लागि पर्ने पनि बताए ।

अन्तमा उनले आफ्नो यात्रामा साथ सहयोग गर्ने अभिभावक, शिक्षकलगायत सम्पूर्णप्रति आभारी प्रकट गरे । ३ वर्षअघि विव्यसको अध्यक्ष चयन भएका राईले आजै आफ्नो कार्यकाल पनि पूरा गरेका छन् । साथै, अब विव्यसले नयाँ व्यक्ति पाउनेछ ।

  • February 26, 2023 प्रकाशित
  • सम्बन्धित