काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपतिको निर्वाचनका लागि संघीय सांसद र प्रदेश सभा सदस्यहरुको नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको छ। उक्त नामावलीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम रहेको छ ।
मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्मका लागि तोकिएको छ । उक्त समयसीमाभित्र निवेदन तथा उजुरी दिन सकिनेछ । र, फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ । राष्ट्रपतिको निर्वाचन २५ गते हुँदैछ।
यी हुन्, निर्वाचनमा भाग लिन नपाउने
संघीय संसदका ३३४ सांसदमध्ये २ प्रतिनिधिसभाका सदस्यले राष्ट्रपति निर्वाचनमा भाग लिन नपाउने भएका छन् भने चितवन–२ रिक्त रहेको छ। निलम्बित सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छैन।
तर, फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश गरिएको छ।