ल्होत्से मलको मोबाइल पसल लुटपाट घटना : ४ जना पक्राउ, अन्यको खोजी कार्य जारी
  • मूलधार

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कको ल्होत्से मलभित्र रहेको मोबाइल पसल तोडफोड गरेर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

सोमबार यातायात व्यवसायीको आन्दोलन चर्किरहँदा मोबाइल पसल तोडफोड गरेर मोबाइल लुटपाटमा संलग्नमध्ये चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल पसल तोडफोड गरी भित्र पसेर लुटपाट गर्ने क्रममा मलमा कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो । नियन्त्रणमा लिइएका उनीहरुलाई गार्डले प्रहरीसमक्ष बुझाएको थियो ।

अहिले पक्राउ परेका ती चार जनामाथि प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै, घटनास्थलमा रहेका सीसीटीभी फुटेजको अध्ययनसँगै प्रत्यक्षदर्शीसँग सोधपुछ भइरहेकाले अन्य मानिसको पनि पहिचान र खोजी भइरहेको बताइएको छ ।

ल्होत्से मलको मोबाइल पसलबाट करिब ८ करोडभन्दा बढी रकम बराबरको मोबाइल लुटपाट भएको भनिएको छ । मोबाइल व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको बताए ।

उनले ल्होत्से मलमा रहेका आफ्नो दुई वटा मोबाइल पसलमा लुटपाट भएको बताए । र तोडफोड भएको दाबीसहित क्षतिपूर्ति माग गरिएको छ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा यातायात व्यवसायीले सोमबार आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा यातायात व्यवसायीले प्रहरीका दुईवटा भ्यानसमेत जलाएका थिए ।

 

  • February 14, 2023 प्रकाशित
  • सम्बन्धित