काठमाडौं । यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो ।
मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए।
ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।
कस्ले तिर्ने क्षतिपूर्ति ?
सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरहरुको आन्दोलनका क्रममा एक मोबाइल पसलमा लुटपाट पनि भएको छ । मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट भएको थियो ।
पसलको सिसा र सटर तोडेर मोबाइल लुटिएको थियो । जुन दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । साथै, पसल लुटिएको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।
मोबाइल व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको बताएका छन् । उनले ल्होत्से मलमा रहेका आफ्नो दुई वटा मोबाइल पसलमा लुटपाट भएको बताए ।
दिनदहाडै पसल लुटपाट भएपछि अब यसको क्षतिपूर्ति राज्यले तिर्नुपर्ने नत्र संघर्षमा उत्रिनुको विकल्प नरहेको पनि बताए ।