वार्तामा गएनन् आन्दोलनरत यातायात मजदुर नेता, भोलि फेरि वार्ताका लागि बोलाइने
  • मूलधार

काठमाडौं । सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आन्दोलनमा रहेका यातायात मजदुरलाई सरकारले वार्तामा बोलाएको छ ।

सोमबार बालाजु–नयाँ बसपार्क क्षेत्रमा उग्र रुपमा आन्दोलनमा उत्रिएर प्रहरीको २ वटा भ्यान तोडफोड गरेका आन्दोलनकारीहरुलाई वार्तामा बोलाइए पनि उनीहरु वार्तामा जान आनकानी गरेका हुन् ।

आन्दोलनरत पक्षका प्रतिनिधि (नेता)लाई वार्तामा आउनका लागि छलफलमा बोलाइए पनि नआएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । सोमबार वार्तामा नआएका उनीहरुलाई मंगलबार वार्तामा बोलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर सोमबार दिउँसोदेखि उनीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु–नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो।

नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले आन्दोलन चर्काएका हुन् । सोमबार दिउँसो नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेस्र्याएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका क्रममा १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी घाइते भएको बताइएको छ । साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा अहिले भने सवारी साधन सञ्चालन हुन सुरु भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 

  • February 13, 2023 प्रकाशित
  • सम्बन्धित