सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त, भोलि सपथ ग्रहण
  • मूलधार

काठमाडौं । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत गुमाएपछि सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहलाई आजै प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

२७ पुसमा माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा), र राप्रपा सांसदको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, बिहीबार विश्वासको मत माग्दा रावलले नाउपाका ७ सांसदको मत पाएनन् ।

५३ सदस्यीय प्रदेशसभामा हाल कांग्रेसको १९, माओवादी केन्द्रको ११ (सभामुखसहित), एमालेको १०, नाउपाको ७, एकीकृत समाजवादीको ४, राप्रपाको एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

रावल पदमुक्त भएपछि नयाँ मुख्यमन्त्री बनेका शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।

 

 

  • February 9, 2023 प्रकाशित
  • सम्बन्धित