रवि लामिछानेको दोहोरो राहदानी विषयमा सरकारी वकिलको कार्यालयले मगायो कागजात
  • मूलधार

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको उजुरीपश्चात् त्यस विषयमा कागजात मागएको छ ।

मंगलबार युवराज पौडेल (सफल)ले लामिछानेको दोहोरो राहदानीसम्बन्धी सरकारी वकिलको कार्यालयमा उजुरी दिएपछि बुधबार सरकारी वकिलको कार्यालयले लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात मगाएको हो ।

मंगलबार लामिछानेले दोहोरो राहदानी लिएको भन्दै ५ वर्ष कैद सजायसहित हदैसम्मको कारिबाहीको माग गरेका थिए । पौडेलले जिल्ला सरकारी वकिल कार्यालय पुगेर राहदानी ऐन २०२४ को दफा (५) को खण्ड (ख) को व्यवस्था अनुसार लामिछानेलाई पाँच वर्ष कैद र जरिवानासहित मुद्दा चलाइ कारबाही गरिपाउँ भन्दै निवेदन दिएका थिए ।

सरकारी वकिलको कार्यालयमा उजुरी परेसँगै अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागलाई बुधबार पत्राचार गरी लामिछानेको राहदानी र नागरिकतासम्बन्धी कागजात मगाइएको बताइएको छ । तीनै ठाउँबाट कागजात आएपछि बाँकी प्रक्रियाका कामहरु अघि बढाइनेछ ।

लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानीजानी झूटो विवरण दिएर राहदानी लिने कसूर गरेको मंगलबार सरकारी वकिलको कार्यालयमा परेको निवेदनमा उल्लेख छ । सोही कसुरमा पौडेलले पाँच वर्षको कैद सजाय र हदैसम्मको कारबाहीको माग गरेका छन् ।

गत माघ १७ गते राहदानी कसुरसम्बन्धमा अनुसन्धान र कारबाही गरी पाऊँ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा जाहेरी दर्ता गर्न पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता मानेको थिएन ।

  • February 9, 2023 प्रकाशित
  • सम्बन्धित