शंखरापुर नगरका नगरप्रमुख नापितले भने- ‘स्थानीयहरुमाथिको प्रहरी दमन तत्काल बन्द गर’
  • मूलधार

काठमाडौं । काठमाडौंको शंखरापुर बोझनीमा बनाउन लागिएको विद्युत सबस्टेशन विवादको विषयमा शंखरापुर नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

शुक्रबार नगरका नगरप्रमुख नरेश नापितले शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयहरुमाथि हातहतियार देखाउने, अवाञ्छित बल प्रयोग र धरपकड गरिएकोबारे ध्यानाकर्षण जनाउँदै प्रहरी दमन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्य अभिभावक हो तसर्थ नागरिकले आफ्नो अभिभावकबाट संरक्षकत्वको अपेक्ष राखि शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा प्रहरी दमनले स्थिति थप अराजकता र नियन्त्रण बाहिर गई गम्भीर दुर्घटना निम्तिन सक्छ । तसर्थ, उल्लेखित अवस्थालाई विचार गरी स्थानीय जनताहरुबाट भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनलाई तत्काल बन्द गरी आपसी संवादको माध्यमाबाट स्थानीयहरुका जायज मागको सम्बोधन हुने गरी तत्काल समस्याको समाधान गर्न अनुरो गर्दछु ।’

राज्यले प्रत्येक नागरिकलाई सम्पत्तिको हक, स्वतन्त्रताको हकजस्ता मौलिक हक दिएको अवस्थामा र मानव अधिकारको संरक्षण र संवद्र्धन गर्नुपर्ने बेला यस्तो कार्यले नागरिक सर्वाेच्चतालाई नै गिज्याइरहेको पनि ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘सम्पत्तिको हक, स्वतन्त्रताको हकजस्ता मौलिक हक एवं मानव अधिकारको संरक्षण र संवद्र्धन गर्ने राज्यको दायित्वको मर्म र प्रतिकूल तथा लोकतन्त्र र विधिको शासन एवं नागरिक सर्वाेच्चतलाई नै गिज्याइरहेको उक्त कार्य निन्दनीय छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

६ दिनदेखि आन्दोलन जारी राखेको स्थानीयहरुले शुक्रबार पनि आफ्ना अडानसहित आन्दोलन जारी राखेका छन् । स्थानीयहरु बोझनीमा बनाउन लागिएको ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसनबारे आफूहरुलाई जानकारी नै नदिइ पूर्ण रुपमा विस्थापित गर्न लागिएको भन्दै आन्दोलनरत छन् ।

साथै, राज्यले सबस्टेसन निर्माण गर्दा स्थानीयको जग्गा हडपेको र स्थानीयलाई डर, धम्कि देखाएर स्थानीयको जग्गा अधिग्रहण गरेर विद्युत सबस्टेसन बनाउन लागिएको उनीहरुको आरोप छ । राज्यल सबस्टेसन बनाउनै हो भने स्थानीयलाई उपयुक्त वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ ।

त्यहिँ माग लिएर आन्दोलनमा रहँदा बुधबार र बिहीबार आन्दोलनरत स्थानीयहरुमाथि प्रहरी पेस्तोल नै देखाएर बलजफ्तीपूर्ण उत्रिएको थियो । यसक्रममा स्थानीयहरु घाइते हुन पुगेका थिए ।

  • January 6, 2023 प्रकाशित
  • सम्बन्धित