काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझनीका स्थानीयहरुले आन्दोलन झन् चर्काएका छन् । ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउदा बिनासूचना राज्यले स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सबस्टेसनको नाममा एमसीसीको सबस्टेसनजस्ता अनाधिकृत काम भइरहेको स्थानीयहरुको आरोप छ । उक्त आयोजना निर्माणले त्यहाँका आदिवासी पूर्ण रुपमा विस्थापित हुनुपर्ने भएकाले कुनै पनि हालतमा आयोजना स्थानन्तरण हुनुपर्ने स्थानीयको माग छ ।
सबस्टेसन सरकारले बनाउने हो भने राज्यले शातिपूर्ण वातावरण निर्माण गर्नुपर्ने स्थानीय शम्भु चौलागाई बताउँछन् । यदि, राज्यले शान्तिपूर्ण वातावरण निर्माण नगरे ‘कि गर, कि मर’ को स्थिति पैदा हुने उनको भनाइ छ ।
उनी भन्छन्, ‘अपर तामाकोशीको सबस्टेशनको नाममा एमसीसीजस्ता सबस्टेशन बनाइँदैछ । जुनचाहिँ विगत केही समदेखि नेपाल सरकारको आँडमा धाक, धम्कि दिएर जग्गा अतिक्रमण गरिएको छ । अपर तामाकोशीलगायत तीन वटा लाइनले आदिवासीको भूभाग गुम्ने र विस्थापित हुने खतरा छ । जनताको ४ सय ५९ फिट जग्गा हडप्न लागिएको कारण यो आयोजना कुनै पनि हालतमा स्थान्तरण हुनुपर्छ ।’
यद्यपि, राज्यले स्थानीयको आवाज नसुनको उनी बताउँछन् । तर, अन्तिम समयसम्म पनि आफूहरु आफ्नो भूभाग बचाउन पछि नहट्ने उनको भनाइ छ । उनी भन्छन्, ‘पहिलो माग आयोजना हटाऊ, दोस्रो माग कि शान्तिपूर्ण वातावरण निर्माण गर, तेस्रो माग कि गर कि मर स्थिति हुन्छ ।’
त्यहाँका अर्का स्थानीय विजय यो क्षेत्रमा सबस्टेसन बनाउदा मानवीय क्षति हुने भएकाले कुनै पनि हालतमा आयोजना स्थानान्तरण हुनुपर्ने उनको माग छ । वडाबाट पनि यो क्षेत्रबा उक्त आयोजना हटाउन भनिए पनि कुनै सुनुवाइ नभएको उनी बताउँछन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले पनि स्थानीयको विषयमा उपयुक्त वातावरण नबनेसम्म आयोजना निर्माण नहुने बताएको उनले बताए । तर, अहिले राज्य प्रहरी नै खटाएर स्थानीयमाथि बलजफ्ती गरेको उनी बताउछन् ।
उनी भन्छन्, ‘कुलमानजीले यहाँ आएर जनताको मागबिना केही गर्दैनौँ भन्नुभयो । तर, अहिले आएर एक्कासी प्रहरीहरु आएर आयोजना बनाउन बलजफ्ती गर्न खोजिरहेका छन् । कुनै पनि वडामा कुनै पनि सूचना नदिइ अहिले दमनमा उत्रिएका छन् ।’
यो पनिः
शंखरापुरको बोझनी विद्युत् सबस्टेसन विवाद : पक्राउ परेकालाई तुरुन्त रिहा गर्न समान नेपालको माग
शंखरापुरमा जबर्जस्ती विद्युत सबस्टेसन बनाउन खोजिएपछि स्थानीयको विरोध, २ जना पक्राउ