काठमाडौं । राष्ट्रिय सिमान्तिकरण विरुद्ध अभियान (समान)ले भुमाफियाहरुको चलखेल, डर, धम्कि तथा प्रलोभन देखाएर अघि बढाउने लागिएको आयोजनाबारे विरोध गर्दा पक्राउ गरिएकाहरुको तुरुन्त रिहा गर्न माग गरेको छ ।
आइतबार काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझनीमा ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउदा राज्यले औपनिवेशिक लादेको भन्दै विरोधमा उत्रिदा पक्राउ परेकाहरुलाई तुरुन्त रिहा गर्न समान नेपालले माग गरेको हो ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रेस विज्ञप्तिमार्फत आइतबार पक्राउ परेका जयमान वाइबा र राजमान स्याङ्बोलाई तुरुन्त रिहा गर्न समान नेपालको माग छ । साथै, आज (सोमबार) पनि राज्यको ज्यादतीविरुद्ध उत्रिदा पक्राउ परेका लवाङ लामालाई तुरुन्त रिहाइ गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी परिचालन गरेर हिजो जयमान वाइबा, राजमान स्याङबो तथा आज पक्राउ परेका लवाङ लामालाई पक्राउ गर्ने कार्यको हामी घोर भत्र्सना गर्दै पक्राउ परेकालाई तुरुन्त रिहा गर्न माग गर्दछौँ ।’
राज्यले आयोजना बनाउँदा जनताबाटै उठाइएका करबाट बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । तर, बोझेनीमा बनिरहेको विद्युत स्टेसन जनतालाई थाहै नदिई शक्तिको दुरुपयोग गरेर विस्थापन गर्न लागिएकोप्रति समान नेपालले उक्त कार्यप्रति कडा विरोध गरेको छ ।
राज्यले मनपरी आतंक तुरुन्त बन्द गरेर त्यहाँका स्थानीय र आदिवासीलाई विस्थापन होइन उनीहरुलाई आन्मनिर्णय र कानूनले प्रत्याभूत गरेको अधिकार प्रयोग गर्न दिन पनि विज्ञप्तिमार्फत भनिएको छ । यदि, राज्य बलजफ्ती ढंगले आयोजना अघि बढाए त्यसको सशक्त विरोध गरिने र त्यसको सबै जिम्मेवारी सरकारले लिनुपर्ने पनि विज्ञप्तिमार्फत भनिएको छ ।