शंखरापुरमा जबर्जस्ती विद्युत सबस्टेसन बनाउन खोजिएपछि स्थानीयको विरोध, २ जना पक्राउ
  • मूलधार

काठमाडौं । सूचना नै नदिइ राज्यले जबर्जस्ती बल प्रयोग गरेर विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउन लागेको भन्दै काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझनीमा स्थानीयले विरोध गरिरहेका छन् ।

४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउदा राज्यले औपनिवेशिक लादेको र करिब २ सय रोपनी जग्गा अधिग्रहण गरेर त्यहाँ रैथाने समुदायलाई विस्थापित पार्न खोजिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

६ सय भन्दा बढी घरधुरीमा रहेका आदिवासी तामाङ समुदाय (२९ हजार जनसंख्या) हरु २ सय रोपनीभन्दा बढी जमिन अतिक्रमण हुने भएपछि आफ्नो थातथलो बचाउन अहिले फेरि विद्रोहमा उत्रिएका छन् । तैपनि राज्य प्रहरी नै परिचालन गरेर विद्युत सबस्टेसन बनाउन खोजिरहेको उनीहरुको आरोप छ ।

आइतबार सरकारका तर्फबाट सुरक्षाकर्मी नै खटाएर सबस्टेसन बनाउन खोजिएपछि बोझनीमा स्थानीय र प्रहरीबीच विवाद चर्र्किएको थियो विवादमा प्रहरीले त्यहाँका २ जनालाई पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय जयमान वाइबा र राजमान स्याङ्बो रहेका छन् । स्थानीयले सरकारले उपयुक्त वातावरण नबाइ स्थानीयलाई विस्थापित गर्न खोजे अमान्य हुने भन्दै विरोध जारी राखेका छन् । १ सय ७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरुले विरोध गरिरहेका छन् ।

अहिले बोझनीमा सुरक्षाकर्मीहरुको तैनाथ रहेको छ भने स्थानीयले विरोध प्रदर्शन चर्काइरहेका छन् । सबस्टेसन निर्माणका क्रममा यसअघि जर्सिङपौवामा पनि स्थानीयले विरोध गर्दै आएका छन् ।

  • January 1, 2023 प्रकाशित
  • सम्बन्धित