- तस्वीर : कितिया पावलोभ्स्की
काठमाडौं । हिउँ चितुवाको तस्वीर खिचेकी अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्की चर्चा बटुलेकी छन् । केही समयअघि सगरमाथा क्षेत्रमा घुम्न जाँदा खिचेको हिउँ चितुवाको तस्वीर अहिले भाइरल छ।
हुन पनि उनले यति आकर्षक र आश्चर्यजनक तस्वीर खिचेकी छिन् कि तस्वीर हेर्ने जो कोहीले तस्वीरको तारिफ गर्छ नै । उनले आफ्नो भ्लगमा उक्त खिचेको तस्वीर पोष्ट गर्दै ‘घोष्ट अफ द हिमालयज’ शिर्षक दिएकी छन् ।
उनले उक्त क्षेत्रमा केही न केही वस्तु भेटिने आत्मविश्वासका साथ हिँडेकी पनि बताएकी छन् । नभन्दै ५ हजार मिटरको उचाइँमा उनले हिउँ चितुवा फेला पारिन् । उनले क्यामेराको टेली लेन्सबाट हिउँ चितुवालाई देखेको उल्लेख गरेकी छन्।
आफ्नो भ्लगमा हिउँ चितुवाको तस्वीर खिच्नका लागि करिब १६५ किलोमिटर हिँडेको पनि उनले भनेकी छन् । उनले लेखेकी छन्, ‘बिहान अत्यधिक चिसो थियो। म निकोन ५०० एमएम क्यामेरा बोकेर खुम्बु उपत्यकामा हिउँको किनारालाई पछ्याउँदै थिएँ। १८ हजार फिटमाथिको मौसम अप्रत्याशित थियो। यो उचाइ हिउँ चितुवा घुम्ने क्षेत्र पनि हो। उपत्यकाको उत्कृष्ट दृश्य हेर्नका लागि भए पनि मैले यो उचाइँ तय गर्नुपर्ने थियो। मेरो क्यामेराको टेली लेन्सबाट हेर्दा मैले केही देखेँ। मलाई लाग्यो त्यो चट्टान हो। तर मैले जे खोजिरहेको थिएँ, त्यो त्यही थियो।’
उनले हिँउ चितुवा देखिएपछि धेरै समयसम्म त्यसलाई पछ्याएको पनि उनले लेखेकी छन् । उनले तस्वीर लिदा देखेका र भोगेका क्षणहरुबारे पनि बडो मार्मिक ढंगले लेखेकी छन् ।
‘हिउँ चितुवाहरू बिहान र साँझको वरिपरि सक्रिय हुन्छन्। बिहान ४ बजे मैले जुत्ता लगाएर निस्किएँ । रात एक चिसो, काल्पनिक सौन्दर्य थियो। २४ पाउण्ड क्यामेरा गियरको साथ, म गोरक शेपको उत्तरपूर्वतिर लागें, र जमेको लेकबेड पार गरे। हिउँले भरिएका पहाडहरू हिराले छरिएझैं चम्किरहेका थिए,’ उनले लेखेकी छन् ।
उनलाई यो तस्वीर लिनका लागि दिपेश, आमिस, डेनियल, डिलियन, सुजनले सहयोग गरेका थिए । उनीहरुलाई कितियाले मनैदेखि विशेष धन्यवाद दिएकी छन् ।