काठमाडौं । ‘काउली बूढी’ भनेर चिनिने सन्ध्या बुढा ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनको ब्याटल राउण्डबाट बाहिरिएकी छन्।
ब्याटल राउण्डको अन्तिम दिन शनिबार टिम प्रमिसबाट मिङसोहाङ केरुङ लिम्बूसँगको प्रतिस्पर्धामा उनी आउट भएकी हुन् ।
कोच प्रविशा अधिकारीले उनीहरुका लागि ‘नाच फिरिरी’ बोलको गीत गाउन लगाएका थिए। तर, दुवैले आशा गरेजस्तो भने प्रस्तुती दिन चुके ।
दुवैको प्रस्तुती सकिएपछि कोच प्रविशाले आफूले आशा गरेजस्तो दुवैले प्रस्तुती नदिएको बताइन् । यस्तै, कोच राजु लामा र राजेश पायल राईले नकआउट चरणका लागि सन्ध्यालाई अगाडि बढाउन सुझाव दिए भने कोच प्रमोद खरेलले मिङसोहाङलाई अघि बढाउन सुझाव दिए।
तीन कोचमध्येका सुझावलाई स्वीकार गर्दै कोच प्रविशाले मिङसोहाङलाई नकआउट चरणका लागि अघि बढाए । स्टिल सकिएका कारण सन्ध्या ब्याटल राउण्डबाटै बाहिरिइन् ।
ब्याटल राउण्डबाट बाहिरिएपनि उनलाई कोच राजेशले एउटा सुनौलो मौका दिए । राजेशले सन्ध्या प्रतिस्पर्धाबाट बाहिरिए पनि उनीसँग एउटा गीत रेकर्ड गर्ने बाचा गरे ।
भ्वाइस अफ नेपालमा आउनुअघि सन्ध्या फ्रेन्चाइज सो ‘नेपाल आइडल’ पनि गएकी थिइन् । नेपाल आइडलको सिजन २ मा सहभागी भएर प्रतिस्पर्धीमा टप २० सम्म पुग्न सफल भएकी थिइन् । सन्ध्यालाई आम दर्शकले काउली बूढी भनेर चिन्दछन् भने उनी एक टेलिभिजनकी कार्यक्रम प्रस्तोतासमेत हुन् ।