द भ्वाइस अफ नेपाल सिजन ४ : प्रतिस्पर्धी छायामा, कोच राजेशपायल चर्चामा
  • मूलधार

काठमाडौं । नेपालमा पछिल्लो समय लोकप्रिय सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालले धमाका मच्चाइरहेको छ । कान्तिपुर टेलिभिजनबाट सुरु भएको भ्वाइस अफ नेपाल हिमालय एचडीसम्म आइपुग्दाको यात्रा निकै रोचक र कठीन देखिन्छ ।

नेपाल आइडलसँग सुरुवाती चरणमा प्रतिस्पर्धामा रहेको भ्वाइस अफ नेपाल अहिले रियालिटी शोको दुनियाँमा नेपालमा अग्रपंक्तिमा रहेको छ । अहिले भ्वाइस अफ नेपालसँगै सिङगिङ सुपरस्टार पनि चलिरहेको छ तर, दर्शकले यो शोप्रति पटक्कै चासो दिएको देखिँदैन । सबैको मुखमा भ्वाइस अफ नेपाल नै झुण्डिएको छ । प्रत्येक शुक्रबार र शनिबार राति साढे आठ बजे युट्युब र त्यसअघि हिमालय एचडीमा प्रसारण हुने भ्वाइस अफ नेपाल कुर्ने दर्शक लाखौँ छन् ।

यो त भयो भ्वाइस अफ नेपालको छोटो परिचय र दर्शकको क्रेज । सबैलाई थाहै छ- भ्वाइस अफ नेपालका पहिलो विजेता हुन् टिम दिपका सिडी विजय अधिकारी । दोस्रो र तेस्रो विजेता हुन्, टिम प्रमोदबाट । क्रमशः राम लिम्बू र किरण गजमेर । त्यसपछिको चौथो सिजन अहिले जारी छ । यो सिजनमा कस्ले बाजी मार्ला त्यो अझैँ कुर्नु नै पर्छ ।

एकछिन लागौँ विगत र वर्तमानतिर । भ्वाइस अफ नेपालको सिजन १ देखि ४ सम्म आइपुग्दा प्रतिस्पर्धीहरु दर्शकको आँखामा बसे । कयौँ रोए । अहिले पनि उनीहरुले भ्वाइस अफ नेपालको स्टेजमा दिएको जीवन्त प्रस्तुती युट्युबमा सर्च गरेर हेर्न सकिन्छ । सिजन ३ सम्म आइपुग्दा धेरै प्रतिस्पर्धीले नाम कमाए, भलै नकआउट चरण पार गरेर लाइभ राउण्डमा पुगेपछि भोटिङका आधारमा प्रतिस्पर्धीहरु तलमाथि भए । भ्वाइस अफ नेपालको सिडी विजय अधिकारीदेखि किरण गजमेरसम्मको यात्रा हेर्दा यो अवधिमा थुप्रै कलाकारले स्टेजबाट छाडेर नाममात्र कमाएनन् दाम पनि राम्रै कमाए ।

तर, भ्वाइस अफ नेपालको सिजन- ४ को ब्याटल राउण्ड सकिनै लाग्दा विगतका एपिसोडजसरी प्रतिस्पर्धीहरु चम्किएनन् । यो सिजनले अघिल्लो सिजनभन्दा पनि झन् दर्शक बटुल्यो तर पनि शोअनुसारको प्रतिस्पर्धी बटुल्न नसकेको हो कि भन्ने पनि धेरै दर्शकलाई लागिनै रह्यो । तर, प्रतिस्पर्धा हो सधैँभरको समय कहाँ एकनासको रहन्छ ? कहिले राम्रो, कहिले नराम्रो हुनु त स्वभाविकै हो ।

मुख्य कुरा प्रतिस्पर्धी जस्तासुकै अब्बल वा दुर्बल आउन् तर भ्वाइस अफ नेपालप्रति दर्शकको क्रेज झन् बढ्दो छ । कार्यक्रम प्रस्तोता सुशिल नेपालको सानदार कार्यक्रम सञ्चालन, त्यस्तै लेजेन्ड कोचहरु । यिनै कारण पनि भ्वाइस अफ नेपाल झन् मजबुत भइरहेको देखिन्छ ।

प्रतिस्पर्धीभन्दा कोच राजेशपायल चर्चामा

भ्वाइस अफ नेपालको सिजन ४ मा नयाँ कोचका रुपमा राइज किङ, महागायकको उपाधिसमेत दिइएका राजेशपायल राईसँगै नव कोचका रुपमा प्रविशा अधिकारीलाई भित्र्याइएको छ । सिजन ३ मा उनीहरुको ठाउँमा दिप श्रेष्ठ र तृष्णा गुरुङ रहेका थिए । यसपाली भने भ्वाइस अफ नेपालको टिमले उनीहरुको ठाउँमा राजेश र प्रविशालाई ल्यायो ।

जहाँ गए पनि आफ्नो शैली र प्रस्तुतीका कारण चर्चामा आइरहने कोच राजेशपायल अहिलको भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धीभन्दा बढी चर्चामा छाए । नयाँ कोच भएकाले पनि हुन सक्छ अन्य तीन कोचहरुभन्दा पनि चर्चामा आए ।

शुक्रबारको ब्याटल राउण्डको अन्तिम चरणमा प्रवेश गर्दै गर्दाको त्यो पल सम्झौँ । टिम राजेशका एक जना प्रतिस्पर्धी अस्वस्थ भई स्टेजमै आएनन् । उनी प्रतिस्पर्धामा भाग नलिएपछि प्रतिद्वन्द्वीले त्यसै ब्याटल जित्ने नै भए । यो खबरले मन भारी भए पनि राजेश आत्तिएनन् उनी आफैँ अनुपस्थित प्रतिस्र्धीको सट्टा स्टेजमा पुगेर आगो बाले । दर्शकले पनि राजेशसँगै हो मा हो मिलाएर गीत गाए ।

ब्लाइन्ड अडिसनको पनि छोटो कुरा गरौँ, ब्लाइन्ड अडिसनमा गीत गाउने प्रतिस्पर्धीहरुले प्राय राजेशपायलकै गीतहरु गाएको सुनियो । यतिमात्र होइन राजेशपायल प्रतिस्पर्धीलाई पनि गीत गाउन सघाइहाल्थे । यस्ले त झन् राजेशपायलको हाइट चौँ गुणाले बढ्यो नै । खासमा बढ्नुपर्ने हाइट प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीको तर, यहाँ उल्टो भइदियो ।

अहिले उनको ‘यो यो’ भन्ने थेगो भ्वाइस अफ नेपाल सिजन ४ मा खुब प्रख्यात छ । राजु लामाले ‘जो जो’ भनेझैँ अहिले राजेशलाई ‘यो यो’ भनेर दर्शकले चिन्दछन् भने राजेश आफूलाई ‘यो यो’ भनेर चिनाइहाल्छन् ।

प्रमोद भर्सेस राजेश

भ्वाइस अफ नेपाल सिजन ४ को विजेता को बन्लो त्यो समयले बताउनेछ तर, अहिले चर्चा भने टिम प्रमोद कि राजेश ? भन्ने नै छ । फेरि कोच प्रविशा र राजुको टिम पनि चानचुने छैन । तर, बाहिर क्वान्टिटीको कुरा गर्दा भने प्रमोद र राजेशकै टिमको चर्चा बेसी छ ।

यसपाली प्रमोदसँग पनि विगतका सिजनझैँ अब्बल र दमदार प्रतिस्पर्धी देखिँदैन । यता, राजेशसँग पनि त्यस्तो अब्बल प्रतिस्पर्धी नभए पनि प्रमोदलाई टक्कर दिने प्रतिस्पर्धी भने देखिन्छ । उता, प्रविशा र राजुको टिम पनि चानचुने छैनन्, राम्रोसँग हेर्ने हो भने अहिलेको यो सिजनमा यी दुईको प्रतिस्पर्धीले पनि उपाधि नउचाल्लान् भन्न सकिँदैन ।

प्रतिस्पर्धी रुवाउने, चिढाउने शो

प्रतिस्पर्धा हो, हारजित सामान्य नै हो । स्वर टेस्ट गर्ने भनेर पनि चिनिने यो सांगीतिक रियालीटि शोले कयौँको भविष्य सडकदेखि एकाएक चुलीमा पुर्याएको छ भने कयौँको आँखाबाट आँशु खसालेको र प्रतिस्पर्धी चिढाएको पनि छ ।

शुक्रबारको शो हेर्दा एक जना प्रतिस्पर्धी ब्याटलबाट आउट भएपछि गहँभरी आँशु पारेर हातले पुछ्दै भनेकी छन्– नेपाल हो, राम्रोलाईभन्दा हाम्रोलाई तानिन्छ । यति राम्रो पर्फमेन्स दिए सेलेक्ट भइन । तर, यहाँबाट बाहिरिए पनि अझैँ राम्रो गर्छु । प्रतिस्पर्धीद्वयले गाएको गीतको बोल थियो– ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न…। कुन टिमका प्रतिस्पर्धी थिए त्यो चिन्ने जिम्मा हजुरहरुको ।

खैर, यो शो हेर्दै जाँदा दर्शक तान्ने नयाँ मनोरञ्जनात्मक अभ्यास, प्रतिभा प्रष्फुटन त भइ नै रह्यो, सँगसँगै विभिन्न आरोप, आलोचना पनि भ्वाइस अफ नेपालले खेपिरहेको देखिन्छ, सुनिन्छ । यसतर्फ कुरा गर्दा थुप्रै प्रसंगहरु आइहाल्छन् । अहिलेलाई सकारात्मक सोचेर यत्ति नै भनौँ । तैपनि यो पुँजीवादी समाजको संज्ञा दिइने अहिलेको अवस्थामा जे होस् यो सांगीतिक रियालीटि शोले लुकेर रहेका प्रतिभाहरुको खोजी भने अवश्य गरि नै गरेको छ ।

  • November 5, 2022 प्रकाशित
  • सम्बन्धित