छोराको डीएनए शिवराजसँग मेल खाएपछि बालुवाटार पुगेकी ‘कुमारी आमा’ निहारिका पक्राउ
  • मूलधार

काठमाडौं । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाएको छ ।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मेल खाएको हो ।

राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि अनसनसमेत बसेकी थिइन् । सरकारले उनको आवाज नसुनेपछि राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

आत्मदहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । र, उनलाई उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएको थियो ।

५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमतिपश्चात राजपुतले अनसन तोडेकी थिइन् । सहमतिअनुसार आरोपी श्रेष्ठ र बच्चाको डीएनए परीक्षण हुनुपर्ने माग राखेकी थिइन् ।

आरोपित श्रेष्ठले निहारिकासँग सम्बन्ध रहे पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । तर, निहारिकाले डीएनए जाँच गराउनुपर्ने माग राखेकी थिइन् ।

फेरि पक्राउ

प्रयोगशालामा राजपुतको छोरा र आरोपित श्रेष्ठसँग डिएनए मिलान भए पछि पत्रकार सम्मेलन गर्न भन्दै शुक्रबार बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजपुतलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटबाटै नियन्त्रणमा लिएको हो । राजपुत त्यहीँ नै पत्रकार सम्मेलन गर्ने भनेर पुगेकी थिइन् । तर, पत्रकार सम्मेलन गर्न नपाउँदै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • November 4, 2022 प्रकाशित
  • सम्बन्धित