काठमाडौं । नवनिर्मित ‘हिमालयन संग्रहालय’ को नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले अवलोकन गरेका छन् । मंगलबार राजदूत थम्सनले काठमाडौँको बौद्धस्थित भर्खरै सम्पन्न संग्रहालय’ को अवलोकन गरेका हुन् । अवलोकनका क्रममा राजदूत थम्पसनले हिमालयन संस्कृति पूर्खाको संस्कृति भएको र यो संस्कृति हिमालय, तिब्बत र बुद्ध धर्म संस्कृतिमा निकै महत्व रहेको बताएका छन् । यस्ता सम्पदालाई जोगाएर राख्नुपर्नेमा उनले जोड दिए ।
यस्तै हिमालय र तिब्बतको संस्कृतिको संरक्षण गरेकोमा खुसी हुँदै हिमालय संग्रहालयका अध्यक्ष तेन्जिन शिमिजुले हिमालय र तिब्बतको संस्कृतिको संरक्षण गरेकोमा खुसी ब्यक्त गरेका छन् ।
विश्व सम्पदा सूचिमा सुचिकृत बौंद्धनाथ स्तुपामा स्वदेशी तथा विदेशी पर्यटकको घुँइचो लाग्ने गर्छ । संग्रहालय सञ्चालनमा आएपछि बौद्ध थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । संग्रहालयले पर्यटन प्रवद्धन गर्नुका साथै हिमालयन संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्ने विश्वास लिइएको छ । शान्त, सफा वातारवरण र विभिन्न पसलहरुमा राखिएका सामानहरुले पर्यटकलाई थप लोभ्याउने छ ।
संग्रहालय अबको करिब एक महिनापछि औपचारिक रुपमा सञ्चालनमा आउने छ । संग्रहालयमा तिब्बती संस्कृति र बौद्ध धर्म झल्किने गरी करिब ६ सय प्रकारका सामानहरू राखिएका छन् । तिब्बतीहरुले प्रयोग गर्ने सामानहरु, हिमाली संस्कृति झल्काउने विभिन्न पेनटिङ, कला, गलैँचा, बक्स, भाडो, टि पट, मंडला कर्पट, बक्कु, श्राइन कोठा (पुजा कोठा), गड इन्स्ट्रमन्ट लगायतका सामानहरु संग्रहालयमा राखिएका छन् ।