कतार विश्वकप : फाइनलमा पोर्चुगललाई हराउँदै अर्जेन्टिनाले उपाधि जित्ने सुपरकम्प्युटरको भविष्यवाणी
  • मूलधार

एजेन्सी । कतार विश्वकप फुटबल सुरु हुन अब केही हप्ता मात्रै बाँकी छ ।  प्रतियोगिता नजिकै आइरहँदा यस विश्वकपको उपाधि कसले जित्ला ? कुन–कुन टिम मुख्य दाबेदार रहेका छन् ?  आदि प्रश्न बढिरहेका छन् । 

यस विषयमा मानिसले आ–आफ्नो धारणा राखिरहेका छन् । फुटबल फ्यानले आफूलाई मनपर्ने टिम र खेलाडीको पक्षमा दाबी गरिरहेका छन् । 

यसैबीच, एक सुपरकम्प्युटरले तीन सातापछि सुरु हुने विश्वकपलाई लिएर एक रोमाञ्चक भविष्यवाणी गरेको छ । यो भविष्यवाणी मिले सम्भवतः यो हालसम्मकै सबैभन्दा रोमाञ्चक विश्वकप पनि हुनेछ । 

सुपरकम्प्युटरका अनुसार कतार विश्वकपको उपाधि लियोनल मेस्सीको टिम अर्जेन्टिनाले जित्ने प्रक्षेपण गरिएको छ । ‘बिसिए रिसर्च’को सिद्धान्तमा आधारित भएर सो सुपरकम्प्युटरले विश्वकपबारे गरेको रोचक भविष्यवाणी अनुसार फाइनलमा मेस्सीको देश अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगलको भिडन्त हुनेछ । र, त्यहाँ पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले पोर्चुगललाई हराएर विश्वकप जित्नेछ । 

यो भविष्यवाणी ‘इए स्पोर्ट्स फिफा २०२३’ गेमका आधारमा खेलाडीको व्यक्तिगत विवरणलाई मुख्य आधार मानेर गरिएको उल्लेख छ । जसमा पछिल्ला ४ वर्षको विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको समग्र तथ्याङ्कलाई पनि केलाइएको छ । 

यसै आधारमा यो कतार विश्वकपको फाइलनमा पोर्चुगल र अर्जेन्टिनाको भेट हुने रोचक प्रक्षेपण गरिएको हो । यो प्रक्षेपणलाई अहिले धेरै मानिसले चासोसाथ हेरिरहेका छन् । 

यसको कारण रोनाल्डो र मेस्सीको भिडन्त विश्वकपको फाइनलमा हेर्न पाउन सक्ने सम्भावना पनि हो । यदि यस्तो भए यो विश्वकप कति स्मरणीय हुनेवाला छ, सबैले अनुमान गर्न सक्छन् ।

कतार विश्वकपमा अर्जेन्टिना समूह ‘सी’मा परेको छ । सो समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया परेका छन् । पोर्चुगल समूह ‘एच’मा परेको छ ।
सो समूहमा उरुग्वे, घाना र दक्षिण कोरिया रहेका छन् । 

 

  • November 1, 2022 प्रकाशित
  • सम्बन्धित