गोरखा । पूर्व प्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने दावी गरेका छन् ।
गोरखामा चुनावी अभियानमा रहेका प्रचण्डलाई भोट माग्दै निर्वाचनपछि बन्ने केन्द्र सरकारको नेतृत्व प्रचण्ड र गण्डकी प्रदेशको नेतृत्व सुरेन्द्रराजले गर्ने दाबी गरेका हुन् ।
गठबन्धनको तर्फबाट निर्वाचन हुन लागेको स्पष्ट पार्दै उनले उनले भने, ‘नेपालमा अहिलेको सन्दर्भमा सबैभन्दा गतिशील र चर्चित व्यक्ति कमरेड प्रचण्ड नै हो । उहाँ जस्तो पात्र यहाँ आउँदा उयुक्त पात्र कोही हुनै सक्दैन ।’
उनले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि गोरखाले विकासको सपना कसरी पूरा नहोलान् भन्दै प्रश्न गरेका छन् । ‘सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेसका उदयमान नेता हुनुहुन्छ, उहाँ प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ । र संघमा प्रचण्ड ।’
भट्टराईले थपे, ‘मैले यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
भट्टराईले जनताको जनमतबाट आफू अर्थमन्त्री र प्रधानमन्त्री हुन पाएकोसमेत बताए । उनले गोरखामा गर्न बाँकी विकास उहाँहरु समेतले पूरा गर्ने स्पष्ट पारे ।