काठमाडौं । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई निर्वाचित भएका छन् ।
फिलिपिन्सको राजधानी मनिलामा अक्टोबर १६ देखि १९ सम्म आयोजित सम्मेलनमा नेपालका राई उपाध्यक्षमा निर्वाचित भएका हुन्। सम्मेलनमा इन्टरनेशनल फेडेरशनसँग आबद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी रहेका थिए ।
एशिया क्षेत्रका दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा निर्वाचित गरेको छ । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रमा विश्वका एक सय ५० देशमा रहेका सात सय युनिय फेडेरेशनसँग आबद्ध छन् । फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य रहेका छन् ।
बेलायतस्थित लण्डनमा मुख्यालय फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाहलगायतका क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्दै आएको छ । सम्मेलनले विश्वस्तरीय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) बारे आफ्नो घोषणापत्रसमेत जारी गरेको छ ।