२०८० सालको तिहारमा धराने जनतालाई सित्तैमा सयपत्री फूल वितरण गरिनेछ : हर्क साम्पाङ
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आगामी २०८० सालको तिहारमा २० लाख सयपत्री फूलको विरुवा रोपेर धराने जनतालाई सित्तैमा फूल वितरण गरिने बताएका छन् ।

यस वर्ष सर्दु, सेउती, पकुवा र निसाने खोलाको बगरभर सयपत्री फूलाएर नमूना काम गरिएको बताउँदै मेयर साम्पाङले आउँदो वर्षको तिहारमा भने सयपत्री रोपेर सित्तैमा धराने जनतालाई फूल वितरण गर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आउने साल २० लाख सयपत्री फूलको वोरुवा उमारेर सर्दु, सेउती, पकुवा, निशाने खोलाहरुको बगर भरि फूलाएर तिहारमा धराने जनतालाई सित्तैमा फूल वितरण गर्नेछौँ ! यो साल नमूना देखाइयो !’

याे पनि :

मेयर साम्पाङको फेसबुक स्टाटसअघि धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएको खबर छाएको थियो । यस वर्षको तिहारलाई भारतको दुई लाख माला भित्र्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन्।

व्यवस्थापक भट्टराईका अनुसार बढी सयपत्री फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ । यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले तिहार भेटेन ।

 

  • October 20, 2022 प्रकाशित
  • सम्बन्धित