सर्लाहीको सगुन सहकारीका कर्मचारीमाथि गोली प्रहार, घाइतेलाई काठमाडौं ल्याउने तयारी
  • मूलधार

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सगुन सहकारीका ३० वर्षीय साजन कार्कीमाथि बुधबार बिहान सवा ११ बजे गोली प्रहार भएको हो ।

लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका कार्की सहकारीमा काम गरिरहेको अवस्थामा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई तीन जनाले गोली प्रहार गरेर भागेको बताइएको छ ।

प्रहरीका अनुसार अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा आएर कार्कीमाथि गोली प्रहार गरेका थिए । गोली हानेर फरार रहेका उनीहरुको प्रहरीले खोजी तीव्र बनाएको छ ।

गोली लागेर घाइते भएका कार्कीलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ । घाइते कार्कीमाथि तीन राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा चोट लागेको छ।

  • October 19, 2022 प्रकाशित
  • सम्बन्धित