जनकपुरधाम । सिरहा प्रतिनिधिसभा क्षेत्र २ का सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादवबीच एक अन्तर्वार्तामा चर्काचर्की भएको भिडिओ यतिखेर भाइरल भएको छ । सिरहाको औरहीमा मंगलबार पत्रकार ऋषि धमलाले उम्मेदवारलाई राखेर चलाएको चुनावी बहस कार्यक्रममा उम्मेदवारद्वय चित्रलेखा र राजकिशोरबीच चर्काचर्की भएको हो ।
नेपाली कांग्रेसकी प्रमुख सचेतकसमेत रहेकी चित्रलेखाले जुन प्रतिगमनकारी पार्टीविरुद्ध केही दिनअगाडि मात्र आन्दोलन गरिरहेका थिए, त्यही पार्टीसँग कसरी गठबन्धन गरेको भनेर राजकिशोरलाई प्रश्न गरेपछि दुईजनाबीच विवाद बढेको थियो ।
पटकपटक प्रतिगमन गर्नेलाई नभइ प्राप्त उपलब्धिको रक्षा गर्ने र अहिले देखिएका नागरिकतालगायतका समस्या समाधान गर्ने वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा जनता रहेको उनले बताइन् ।
जवाफ दिने क्रममा जसपाका राजकिशोरले कांग्रेस २०१५ सालमा बहुमत ल्याएर सरकार बनाएको र आन्तरिक किचलोका कारण तत्कालीन राजाले ‘कु’ गरेको बताएलगत्तै चित्रलेखाले प्रतिवाद गरिन् । चित्रलेखाले ‘पार्टीको आन्तरिक किचलो कारण होइन्’ भनेपछि चर्काचर्की सुरू भयो । दुवैजना कुर्सीबाट उठेर एक अर्कालाई औंलासमेत तेर्स्याएका थिए ।
उनी दुबै जनाको बीचमा कार्यक्रम प्रस्तोता पत्रकार धमला थिए । दुई उम्मेदवारबीच चर्काचर्की चल्दा दर्शदीर्घाले हुटिङ गरेका थिए ।
उक्त कार्यक्रममै चित्रलेखाको पारिवारिक विवादसम्बन्धी प्रश्न गरेका एक युवक कुटिए पनि । आफ्नै बुहारीमाथि अन्याय गरेको हो भने अन्य महिलाहरूका लागि के गर्न सक्नुहुन्छ रु भन्ने प्रश्न गरेपछि ती यूवकलाई चित्रलेखाका समर्थकहरूले खेदेका थिए । पटक(पटक विवाद भएपछि पत्रकार धमलाले कार्यक्रम छोट्याए ।
एमाले र कांग्रेसको चरित्र उस्तै रहेको भन्दै एमालेसँग चुनावी तालमेल गरेर गलत नगरेको राजकिशोरले तर्क गरे । चुनावी तालमेल भएपनि जसपा आफ्नो एजेण्डा र एमाले आफ्नो एजेण्डा बोकेको बताए । उनले नागरिकतासम्बन्धीत समस्या एमालेलाई पनि सहमतिमा ल्याएर सम्बोधन गराउन सकिने पनि उनको भनाइ थियो ।