ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन सामान्य चुनाव नभएको बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो चुनाव जनता कि प्रतिगमनले जित्नेसँग सम्बन्धित रहेको बताएका हुन् ।
उनले भने, “यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।”
अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने पनि बताएका छन्।
साथै, प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए ।
निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे। उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए।