काठमाडौं । प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राई अहिले चुनावी मैदानमा व्यस्त छन् । राई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन सदस्यका लागि नेकपा एमालेबाट भोजपुरबाट उम्मेदवार रहेका छन् ।
भोजपुरबाट उनीसँग प्रतिस्पर्धा गर्न गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट सुदन किराती मैदानमा छन् । २०७४ निर्वाचनमा बाम गठबन्धन हुँदा किराती प्रतिनिधिसभातर्फ थिए भने राई प्रदेशतर्फ । दुवैले प्रतिनिधि र प्रदेशमा विजयी हासिल गरे ।
विजयी हासिल गरेपछि राई प्रदेश १ को मुख्यमन्त्री बने, किराती संघीय सांसदमात्र बने । मुख्यमन्त्री रहँदा शेरधनमाथि प्रदेशको नामाकरण गर्न नसकेको भन्दै असक्षम मुख्यमन्त्रीका रुपमा प्रदेश १ का जनताले भन्ने गरेका छन् । ओलीनिकट मानिने राई पार्टीविरुद्ध कहिल्यै बोलेनन्, पार्टीले जे बोल्यो त्यहिँ मात्र गरे, सत्ता टिकाए भनेर उनीमाथि भन्ने गरिन्छ ।
अहिले पनि फेरि यी दुई भाई चुनावी मैदानमा छन् । पहिले एउटै समूहबाट प्रतिनिधि र प्रदेशका उम्मेदवार यी दुई अहिले प्रतिनिधिसभाका उम्मेदवार छन् । र, आफ्नो जित सुनिश्चित सुनिश्चित गर्न दुवै दौडधुपमा छन् ।
चुनावी क्याम्पेन चलाइरहेको अवस्थामा राईले भने अब भोजपुर ‘कसैले छोड्नु नपर्ने भोजपुर बनाउछु’ भन्ने सपना देखेका छन् । त्यसभन्दा अघि उनले ‘सबैलाई आउँ आउँ लाग्ने भोजपुर बनाउछु’ भनेर भनेका छन् । राई र किराती दुवै भाईको सामाजिक सञ्जाल चियाउदा किराती भने ‘अग्र्यानिक’ स्टाइल मै हिँडिरहेका जस्ता देखिन्छन् भने राईचाहिँ मतदाता रिझाउने तिगडमबाजी अपनाइरहेको जस्तो देखिन्छ ।
किरातीको सन्दर्भमा भन्नुपर्दा माओवादीमा उनी विद्रोही स्वभावमा सधैँ अडिग रहे । कोरोनाकालमा जनताको घर दैलोमा पुगिरहे । राहत बाँड्न आफै निस्किए । संसद्मा पनि खरो रुपमा उत्रिए । जनताबाट चुनिएर गएको पाँच वर्षको अवधिमा यी दुई नेतामध्ये राईभन्दा किरातीले जनताको मन जित्न सफल भए । यसपटकको निर्वाचनमा कस्ले जनताको मन जित्छन् त्यो भने हेर्न बाँकी छ ।