काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । सन्दीपमाथि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
तर, अनुसन्धान चलिरहेकै बेला बलात्कारको आरोप लगाउने ‘नाबालिगलाई सार्वजनिक गर’ भन्दै केही फिल्म अभिनेता, वकिल, कथित अभियन्ता भन्नेहरुले नाराबाजी चर्काइरहेका छन् । सन्दीपविरुद्ध मुद्धा हाल्ने पीडित हाल माइती नेपालको संरक्षणमा छन् ।
पीडित किशोरीलाई सार्वजनिक गर भन्दै युट्युबर लिएर आफूलाई अभियन्ता भन्नेहरु माइती नेपालको कार्यालयमा पुगेरै धर्ना दिन थालेका छन् । केही दिन अघि एक सञ्चार माध्यममा पीडित किशोरीको इच्छाविपरीत माइती नेपालले उनलाई कब्जामा राखेको समाचारसमेत बाहिर आयो । त्यसले त झन् युट्युबरलाई आगोमाथि घ्यु थपिदियो ।
कानूनले यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्न भनेको छ । कुरा यहाँ यतिमा मात्र छैन बालिका बलात्कारजस्तो गम्भीर विषय छ । र, यस्तो अवस्थामा पीडितलाई सार्वजनिक गर भन्दै नाराबाजी गर्दै जानु कति जायज होला ? पीडितको गोपनियताको हक सम्बन्धी हेक्का राख्न पर्छ कि पर्दैन ? सरोकारवालाको प्रश्न छ ।
यद्यपी पीडित किशोरीलाई कब्जामा राखेको भन्ने विषयमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले यसमा कुनै सत्यता नभएको एक टेलिभिजनमार्फत भनेकी छन् । उनले समाचारमा आएको विषयमा सत्यता नभएको र प्रहरीले नै किशोरीको संरक्षण गर्न माइती नेपालको जिम्मा लगाएको बताएकी छिन् ।
माइती नेपालमा किशोरीको अवस्था कस्तो छ ?
माइती नेपालका उप–निर्देशक अच्युत नेपालका अनुसार पीडित किशोरीको आत्मबल निकै बलियो छ । पढाईमा समेत उनी निकै अब्बल रहेकी छन् । अहिले कलेज बिदा भएकाले माइती नेपालले उनलाई अध्ययनका लागि ल्यापटप दिएको छ । उनी प्रायः अध्ययनमै व्यस्त हुन्छिन् । उनले भागवत गीतासमेत पढिसकिन् । उनी सामाजिक सञ्जालबाट टाढा छिन् । आफ्ना सामाजिक सञ्जालका अकाउन्टहरु डिएक्टिभ गरेर उनी कानुनी लडाईका लागि तयार भएकी छिन् ।
माइती नेपाल बसेदेखि दशैमा एक पटक मात्रै आफ्ना बाबुसँग भेट गरिन् । त्यो पनि प्रहरीको उपस्थितिमा । किशोरीका बाबु र आमाबीच सम्बन्ध विच्छेद भएको छ । दुवैले दोस्रो बिहे गरेर आ-आफ्नो नयाँ परिवार बसाएका छन् । यद्यपि, किशोरीको सम्बन्ध आफ्ना बाबु र आमासँग राम्रै छ । फोनमार्फत उनी आफ्नो परिवारसँग नियमित सम्पर्कमा छिन् । परिवारको मञ्जुरीमै उनी माइती नेपालको संरक्षणमा रहेको उप–निर्देशक नेपाल बताउँछन् ।
पीडित किशोरी माइती नेपालको कब्जामा भन्ने समाचार आएपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो दिएको छ । आइतबार मानव अधिकारको टोलिले किशोरीसँग भेट गरेको छ । न्यूज २४ को कार्यक्रम सिधा कुरा जनतासँग राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलले आयोगको टोली माइती नेपाल पुगेको तर, बाहिर समाचारमा आएजसरी माइती नेपालले पीडितलाई कब्जामा राखेको भन्ने आधार नभेटिएको बताए ।
उनले भने, ‘पीडितलाई कब्जामा राखिएको भन्ने कुराचाहिँ हामीले बुझ्यौँ । यद्यपि, पीडितसँग आयोगको टोलीले भेटेर कुरा गरेको छ । र, प्रहरीले नै माइती नेपालमा राख्न पठाएको भन्ने पाइएको छ ।’
यस विषयमा निरन्तर अनुसन्धान गरिरहेको र पीडितको आमाबुवासँग पनि थप कुरा बुझ्न सम्पर्क गर्दा सम्पर्क नभएको प्रवक्ता पोख्रेलले जानकारी दिए । उनका अनुसार पीडितका आमाबुवा काठमाडौंबाहिर रहेकाले भेट भएको छैन तर पीडितको आमाबुवासँग भेटेर थप कुराकानी गर्नेछौँ ।
यता, प्रहरी बृत गौशालाको हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । सन्दीपले आफूनिर्दोष रहेको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताउदैँ आएका छन् । क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनका कानुन व्यावसायीले पनि योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गर्दै आएका छन् ।