काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले शर्मिला तामाङलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । मेयर साम्पाङले आइतबार आफ्नो एक महिनाको ५० हजार तलब शर्मिलालाई उपलब्ध गराएका हुन् ।
आर्थिक रकम बुझ्दै शर्मिलाले मेयर साम्पाङलाई हृदयदेखि धन्यवाद दिएकी छन् । शर्मिलाले काठमाडौं महानगरले जसरी फुटपाथमा व्यापार गर्ने व्यवसायीहरुलाई एक्कासी मर्कामा नपार्न पनि आग्रह गरिन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले जस्तो फुटपाथमा व्यापार गर्नेलाई नरुवाउन पनि मेयर साम्पाङसँग उनले आग्रह गरेकी छन् । साथै, शर्मिलाले हर्क साम्पाङ मेयरबाट प्रधानमन्त्री बनेको हेर्न मन भएको पनि बताएकी छन् ।
शर्मिला टेकुको प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा चलाउदै आइरहेकी थिइन् । बिहीबार काठमाडौं महानगरको टोली त्यहाँ आएर उनको ठेला खोसेर लगेपछि उनी सामाजिक सञ्जालमा छाएकी थिइन् ।
मेयर साम्पाङले पनि आर्थिक रकम उपलब्ध गरेपछि शर्मिलालाई सान्त्वना दिएका छन् । उनले मान्छे भएर कहिल्यै हरेश नखान र राजनीति भनेको गरिब दुःखीहरुका लागि भएको पनि प्रष्ट पारेका छन् ।
मेयर साम्पाङले लेखेका छन्, ‘बहिनी कहिल्यै हरेस नखानु… मान्छे त हरेक दिन जन्मन्छ मर्छ तर मानवता कहिल्यै मर्दैन र मर्नु हुँदैन ! हामीले गर्ने राजनीतिले कसैको गाँस नखोसोस् ! धनी त धनी भइहाल्यो नि गरीबको लागि बन्नु पर्छ सरकार भन्ने मेरो भनाइ हो !’
यो पनि :