काठमाडौं । ‘मेरो बच्चा बाटोमा रोइरहेको होला । ठेला लान दिनुभयो भने अबदेखि कहिले पनि त्यो रोडमा आउँदिन ।’ भिडियाेमा ठेला समाएर रुइरहेकी छिन् एक जना महिला । उनी हुन्, शर्मिला तामाङ । दैनिक जीविकोपार्जन गर्ने ठेला नै काठमाडौं महानगरले खोस्दा ठेला खाेसेर लैजान अनेक अनुनय विनय गरिन्, राेइन् । तर, महानगरले उनकाे चित्कार सुनेन । त्यसपछि उनी ठेला समाएर राेइरहिन् ।
टेकुको प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा चलाउदै आइरहेकी थिइन्, शर्मिला । बिहीबार काठमाडौं महानगरको टोली त्यहाँ आएर उनको ठेला खोस्यो ।
शर्मिला दुई वर्षदेखि श्रीमान् र २ वर्षे छोरासँगै बागमती किनाराको सुकुम्बासी बस्तीमा व्यापार गर्दै आइरहेका थिए । बसाई पनि सुकुम्बासी बस्तीमै । घरेलु कामदार छाडेर चटपटे, पानीपुरी व्यापार थालेकी शर्मिलाका लागि गएको बिहीबार दशा बनेर आयो ।
शर्मिलाको ठेला महानगरले खोसेर लगेपछि बाहिर दुईथरी टिकाटिप्पणी भए । पहिलो : महानगरले गुण्डागर्दी होइन गरिबलाई गरिखान दिनुपर्यो । दोस्रो : सबैले नियमको पालना गर्नुपर्छ अनि सभ्य समाज बन्छ ।
विशेषगरी काठमाडौं महानगर प्रमुखमा बालेन निर्वाचित भएर आएपछि अवैधानिक जग्गा अतिक्रमण, फुटपाथ व्यापार, टुकुचा खोला उत्खनन्, पार्किङ बेसमेन्टलगायतका कामहरु एक्सनमा उत्रिइरहेका गरिरहेका छन् । यहिँ एक्सन चालिरहँदा महानगरले सर्मिलाको ठेला पनि खोसेर लग्यो । शर्मिलाको ठेला खोसिनु र यहिँ बेला बालेन काठमाडौंको एउटा क्लबमा श्रीमतीका साथ डान्स गर्नुले सामाजिक सञ्जाल थप रंगियो ।
सामाजिक सञ्जालमा शर्मिलाले ठेला समाउँदै रोएको तस्वीरले तहल्का पिट्यो । धरान उपमहानगरका मेयर हर्क साम्पाङले एक महिनाको तलब शर्मिलालाई दिने घोषणा गरे । त्यसपछि चौतर्फीबाट शर्मिलालाई आर्थिक रकम जुट्यो ।
सहयोगबापत् आएको रकम शर्मिलाले एनएमबी बैंकमा खाता खोलेर जम्मा गरेकी छन् । शर्मिलाका अनुसार हालसम्म सहयोगबापत् दुई लाख २५ हजार रुपैयाँ प्राप्त भएको छ ।
सहयोगी मनहरुबाट आर्गिक सहयोग रकम जुटेपनि शर्मिलासँग अहिले हातमा कुनै काम छैन । भएको ठेला महानगरले खोसेर लगेपछि केही दिन शर्मिला अब के गर्ने ? परिवार कसरी पाल्ने ? डेंगुले थलिएका श्रीमान देखेर आत्तिए । तर, यहिँ बेला उनलाई सहयोगी मनहरुबाट सहयोग मिल्यो ।
सहयोगी हातबाट आएको रकम के गर्दैछिन् शर्मिला ? शर्मिला अब सहयोगबापत आएको रकमले कुनै ठाउँमा भाडामा सटर लिएर व्यवास चलाउने योजना छिन् । तर, कुन ठाउँमा व्यवसाय चलाउने उनले तत्काल निधो भने गरिसकेकी छैनन् ।