गाउँमा कुन चाहिँ ‘खेलाडी’ आएछन् ?
  • मूलधार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले अचेल गाउँमा जाँदा ‘नेतालाई कुन चाहिँ चोर आएछ भन्छन्’ भनेर दिएको अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति निकै चर्चा पायो । बसहको विषय नै बन्यो ।

अहिले नेताहरु गाउँ गाउँ पुगेका छन् । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेताहरु आ–आफ्नो गृहजिल्ल पुगेका छन् । निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । आफूलाई भोट मागिरहेका छन् । प्रयाः सबै नेताले आफूलाई सरल र समान्य देखिउने विभिन्न र्हकत गरिरहेका छन् ।

निर्वाचनको लागि गाउँ गाउँ पुगेका हाम्रा नेतालाई देख्दा जनताले ‘कुन चाहिँ चोर आएछ भन्छन्’ नभने पनि ‘गाउँमा कुन खेलाडी चाहिँ आएछन्’ पक्कै भन्ने छन् !

एमाले सचिव योगेश भट्टराईलाई नै हेरौं न । ताप्लेजुङका विकट गाउँहरुमा उनी कहीँ गाडीमा, कहीँ ठमठम हिँडेर भोट मागिरहेका छन् । केही घन्टाअघि उनले ताप्लेजुङको आङखोप गाउँमा क्यारमबोर्ड खेलिरहेको तस्वीर पोस्ट गरे । उनका विभिन्न तस्वीरहरुमध्ये यो आम चर्चामा बढ्ता परेको देखिन्छ ।

त्यसमा आएका कमेन्टहरु रोचक छन् । एकजनाले व्यंग्य गरेका छन्, ‘गाउँगाउँमा बेरोजगारी बढाउँदै ।’ यस्ता थुप्रै कमेन्ट छन्, जसबाट उम्मेदवारहरुले ठम्याउन सक्छन्, आजको समयको ठूलो राजनीतिक एजेन्डा भनेको रोजगारी सिर्जनासँग सम्बन्धित छ ।

यस्तै क्यारमबोर्ड खेलिरहेका अनेकौं तस्वीर फेसबुक ट्वीटरमा भेटिन थालेका छन् । अरुले खेलेको होइन, उम्मेदवारहरुले खेलेको । जस्तो कि खोटाङमा विशाल भट्टराई, बझाङमा भानुभक्त जोशी, मकवानपुरमा कमल थापा क्यारमबोर्डमा सहभागी देखिन्छन् । खेल जिते नजिते पनि यिनै तस्वीरमार्फत गाउँ पुगेर क्यारमबोर्ड वरिपरि देखिने, अनि कम्तीमा ‘मन जित्ने’ प्रयास ।

क्यारमबोर्ड खेल्ने नेता यतिमात्रै छैनन् । अघिल्लो पल्ट चुनावमा एमाले अध्यक्ष केपी ओलीले क्यारमबोर्ड भिडिरहेको तस्वीर र सार्वजनिक भएको थियो ।

खेलहरुसँग नेताले आफूलाई जोडेको राम्रै हो । दिमाग फ्रेस गराउने, अनि सिर्जनात्मक क्षमता र स्वास्थ्यका लागि पनि राम्रो । तर क्यारमबोर्डलाई राम्रो खेल मानिन्दैन ।

विद्यार्थी, किशोर किशोरीहरु क्यारमबोर्ड खेलेकामा प्रोत्साहन होइन, गाली नै पाउने गर्छन् । न कुनै शारीरिक स्फुर्ति, न जित्दा कुनै ठूलो उपलब्धि, क्यारमबोर्डमा केही छैन । तैपनि नेपालका गाउँशहरमा क्यारमबोर्ड प्रचलित खेलकै रुपमा छ ।

यी चुनावहरुले हामीलाई जागरुक र सार्वभौम मतदाता बनाउलान् ? कि यिनै टुटेफुटेका क्यारमबोर्डका रंगरोगन हराएका गोटीमै सीमित राखिदेलान् ।

 

  • October 16, 2022 प्रकाशित
  • सम्बन्धित